काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको आज
पनि भिसाको प्रक्रिया अघि नबढ्ने भएको छ । अमेरिकामा आज ‘मेमोरियल डे’ परेको छ । हरेक
वर्षको मे २७ तारिखका दिन मेमोरियल डे मनाउने भएकाले सबै देशका कुटनीतिक
नियोगहरुमा सार्वजनिक विदा दिइएको छ ।
आज काठमाडौंस्थित अमेरिकी दूतावासमा पनि
विदा भएकाले क्रिकेटर सन्दीपको भिसाको प्रक्रिया अघि नबढ्ने भएको हो । पहिलो पटक
भिसा रिजेक्ट भएपछि पुनः सन्दीपले प्रक्रिया अघि बढाएका छन् । तर अहिलेसम्म
सरकारले कुटनीतिक नोट नै जारी नगरेकाले सन्दीपले अमेरिका र वेस्टइन्डिजमा आयोजना
हुन लागेको आइसीसी टी–२० विश्वकप गुमाउने खतरा झन झन बढ्दै गएको छ ।
नेपाली टिम अमेरिका प्रस्थान गर्दा अदालतमा
मुद्दा विचाराधिन रहेकाले उनको प्रक्रिया अघि बढेको थिएन । उच्च अदालतबाट सफाइ
पाएपछि २०२५ सम्मको पहिलाको भिसा भएकै कारण क्यानले टिकट समेत व्यवस्था गरि सकेको
थियो भने उनको जर्सी लगायतका कुराहरु प्रिन्ट पनि भइसकेका थिए ।
फिटनेस टेस्टसमेत दिएका सन्दीप खेल्नलाई
योग्य भनेर जाने तयारी गर्दा अघिल्लो दिनमात्रै उनको एक वर्ष अघि भिसा रद्द भएको
इमेल पाएका थिए । त्यसपछि प्रक्रिया पूरा गरेर अन्र्तवार्ता दिन गएका सन्दीपलाई
अमेरिकी दूतावासले भिसा रिजेक्ट गरेको थियो । भिसा रिजेक्ट भएपछि अहिले क्यानका
पदाधिकारीहरुले सन्दीपलाई खेल्न पठाउने या नपठाउने जिम्मा नेपाल सरकारको रहेको
अभिव्यक्ति दिएका छन् ।
यदि सरकारले कुटनीतिक नोट बनाएर दूतावासमा
पठाएमा सन्दीप खेल्न जान पाउने छन् । तर, अहिलेसम्म कुटनीतिक नोट तयार भने भएको छैन ।
सामान्य पत्र तयार भए पनि उक्त पत्रका आधारमा भिसा दिन नसकिने संकेत दूतावासले गरि
सकेको छ । त्यसैले अहिले क्यानका पदाधिकारीहरुले प्रधानमन्त्री र
परराष्ट्रमन्त्रीलाई भेट्ने प्रयास गरिरहेका छन् । युवा तथा खेलकुदमन्त्रीलाई भने
यसअघि सन्दीसहितको टोलीले भेटेको थियो । त्यहाँबाट प्रक्रिया अघि बढाएर
परराष्ट्रमा पत्र पुगेको बुझिएको छ । परराष्ट्रका अधिकारीहरुले प्रक्रिया अघि
बढाउनु भन्दा पहिला दूतावाससँग समन्वय हुनु पर्ने बताएका छन् । तर, आज सार्वजनिक विदा
परेकाले दूतावासले छलफल गर्नका लागि मंगलबारलाई समय तय हुन सक्ने संकेत गरेका छन्
। मेमोरियल डे अमेरिकी सेनामा कार्यरतहरुले जीवन आहुति गरेको दिनको रुपमा मनाइन्छ
।
मेमोरियल डेको उपलक्ष्यमा आज अमेरिकी
दूतावासमा विदा भए पनि मंगलबार नेपालको गणतन्त्र दिवस परे पनि कार्यालय भने खुला
रहने छ । यता नेपाल सरकारका सरकारी निकायहरु भने मंगलबार विदा हुँदा त्यसले पनि
भिजा प्रकृयामा अप्ठेरो पार्ने सम्भावना झन् बढेको छ ।