बिर्तामाेड । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि नेकपा एमाले बिर्तामाेड नगर कमिटीकाे आज निर्वाचन हुने भएकाे छ । दिउँसाे २ बजेदेखि निर्वाचनकाे कार्यक्रम सुरु हुने भएकाे छ । 

पार्टीकाे अध्यक्ष पदमा बर्तमान अध्यक्ष सुवास भट्टराई र सचिव शेखर कडेलबिच प्रतिष्पर्धा हुने भएकाे छ । पहिलाे अधिवेसनमा नै अध्यक्षकाे रुपमा कडेलले  आफुलाई अघि सारेका थिए । दाेस्राे अधिवेसनमा अध्यक्ष बनाउने नेताहरुकाे आश्वासन पछि उनी सचिव हुन तयार भएका थिए । पुर्व सहमति अनुसार अध्यक्ष भट्टराईले पुन दावी नछाेडेपछि याे पटक निर्वाचन हुन लागेकाे हाे । 

पहिलाे अधिवेसनमा एक कार्यकालकाे लागि मात्र अध्यक्ष हुने भट्टराईकाे घाेषणा थियाे । दाेस्राे अधिवेसनबाट सर्वसम्मत अध्यक्ष हुने सहमतिपछि कडेल भट्टराई नेतृत्वकाे कमिटीमा सचिवकाे भूमिकामा रहन तयार रहेका थिए । तर, भट्टराईले विगतमा गरेकाे सहमति कार्यान्वयन नगरेपछि निर्वाचन हुन लागेकाे हाे । 

भट्टराई र कडेलले प्यानल नै बनाएर अहिले निर्वाचनमा सहभागी भएका छन् । प्यानल बनाएर निर्वाचनमा जान नदिने पार्टी नीति विपरीत उनीहरु प्यानल बनाएर निर्वाचनमा गएका हुन् । 

प्यानल मात्र हाेइन । भट्टराई र कडेलकाे पक्षमा बिर्तामाेडमा रहेका एमाले नेताहरु बिभाजित भएका छन् । भट्टराईलाई यसै क्षेत्रबाट निर्वाचन जितेर सभामुख भएका देबराज घिमिरेकाे समर्थन रहेकाे छ । यस्तै बिर्तामाेड नगरपालिकाका मेयर पवित्रा महतारा प्रसाई पनि उनकाे पक्षमा छन् । मेयर प्रसाई भट्टराईकाे व्यवसायिक साझेदार पनि हुन् । 

कडेलकाे पक्षमा एमाले स्थाई कमिटी सदस्य अग्नि खरेल, केन्द्रिय सल्लाहकार हरिचरण शिवाकाेटी, केन्द्रिय अनुसासन आयाेगका सदस्य उमानाथ ओली,  बिर्तामाेडका पुर्व मेयर ध्रुबकुमार शिवाकाेटी, काेशी प्रदेशका‍े खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्की, पार्टीका प्रदेश सदस्य तथा क्षेत्र न २ क का इन्चार्ज गणेश पाेखरेल लगायतका नेताहरुकाे समर्थन रहेकाे छ । 

उपाध्यक्षमा मदन बुढाथोकी र राहुल शर्माले उम्मेदवारी दिएका छन् । बुढाथोकी भट्टराई र शर्मा कडेल प्यानलका हुन् । सचिव पदमा भट्टराई प्यानलका अम्बिका लिङ्देन र कडेल प्यानलबाट लक्ष्मीप्रसाद बाँस्कोटाको उम्मेदवारी परेको छ ।

एक उपसचिव खुल्ला पदमा चारजनाले मनोनयन दर्ता गराएका छन् । भट्टराई प्यानलबाट गंगालाल राजवंशी, कडेल समुहबाट हिमाल कन्दङ्वा उम्मेदवार छन् । त्यस्तै उपसचिव महिला पदका लागि कडेल समुहका चन्द्रकला संग्रौला पकुवाल र भट्टराई समुहका डिल्लीमाया आचार्यले उम्मेदवारी दिएका छन् । अन्य सदस्य पदका लागि पनि प्रतिस्पर्धा हुने देखिएको छ ।

निर्वाचन समितिले हिजो साँझ ७.३० बजे उम्मेवारको प्रारम्भिक नामावली प्रकाशन गरेको थियो । आज बिहान ११.३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि दिउँसो २ देखि ५.३० बजेसम्म मतदान कार्यक्रम राखिएको निर्वाचन संयोजक राजेन्द्र भट्टराईले जनाएका छन् ।