बिर्तामाेड । नेकपा एमाले बिर्तामोडको दोस्रो नगर अधिवेशनबाट सुवास भट्टराई पुन अध्यक्षमा निर्वािचत भएका छन् । केहीबेर अघि सम्पन्न मतगणनामा भट्टराई र उनले नेतृत्व गरेको प्यानलले नै जीत हासिल गरेको छ।

अध्यक्षका उम्मेदवार भट्टराईले २६८ मत ल्याएर जीत हासिल गरेका हुन् । उनका प्रतिष्पर्धी शेखर कँडेलले १९९ मत पाएका छन् । त्यस्तै उपाध्यक्षमा मदन बुढाथोकीले ३२३ मत ल्याएर विजय हासिल गर्दा उनका प्रतिष्पर्धी राहुल शर्माले १३४ मत प्राप्त गरेका छन् । बुढाथोकी बिर्तामोड ३ र शर्मा बिर्तामोड ४ का वडाध्यक्ष हुन् ।

त्यस्तै खुल्ला सचिव पदमा अम्बिका लिङ्देन विजयी भएका छन् । लिङ्देनले २३८ मत ल्याउँदा लक्ष्मीप्रसाद बाँस्कोटाले २१० मत पाएका छन् । त्यस्तै खुल्ला उपसचिव पदमा गंगालाल राजवंशीले २२२ मत ल्याएर जित हासिल गर्दा हिमाल कन्दङ्वाले २२० मत पाएका छन् ।

त्यस्तै महिला उपसचिवमा डिल्लीमाया आचार्यले २५४ मतसहित निर्वाचित हुँदा  चन्द्रकला संग्रौला पकुवालले १७६ मत पाएकी छन् । त्यस्तै लेखा कमिटीको उपाध्यक्षमा दिनेश अधिकारी २११ मतसहित निर्वाचित भएका छन् भने  किशोरकुमार पौडेलले १८८ मत ल्याएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका सुमन त्रिखत्रीले मात्र ३५ मत पाएका छन् ।

लेखा कमिटीको सचिवमा हिमाल मैनाली २२२ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिष्पर्धी ढाँचाराम कडरियाले १९९ मत ल्याएका छन् । त्यस्तै लेखा कमिटी सदस्यहरुमा विष्णुप्रसाद आचार्य २८८ , लक्ष्मी रोका २७९ र सुजन दाहाल २६८ मतसहित निर्वाचित भएका छन् । पराजित राजन घतानीले २०३ मत पाएका छन् । कुल ५०४ मतदाता रहेको अधिवेशनमा ४८८ जनाले मतदान गरेका थिए । भट्टराई दोस्रो कार्यकालका लागि अध्यक्ष बनेका हुन् । अध्यक्षमा वर्तमान नगर कमिटीका अध्यक्ष भट्टराई र सचिव कँडेलले प्रतिष्पर्धा गरेका थिए ।