बिर्तामोड । २०७३ सालअघिसम्म मेचीनगर नगरपालिका–१२ चारआलीका सुहाङ थरकी एक महिलाले घर नजिकै सामुदायिक बन क्षेत्रमा सानो मन्दिर स्थापना पुजापाठ गर्न थालिन् । किराँत धर्मकी अनुयायी उनले किराँतेश्वर मन्दिर स्थापना गरेकी थिइन् । 

pathivara 1

मन्दिरमा पुजापाठ गर्न आउने किराँत धर्मावलम्बीको संख्या दिनहुँ बढ्न थाल्यो । त्यसपछि उनले सामुदायिक बनको घना क्षेत्रमा किराँतेश्वर मन्दिर स्थापना गरिन् । सो समयदेखि हालसम्म बन क्षेत्रमा किराँतेश्वर मन्दिर स्थापना भई निरन्तर पुजाआजा चलिरहेको छ । मन्दिर मात्र होइन, किराँत धर्मका अनुयायीले त्यहाँ पुजारी बस्ने अस्थायी टहरोसमेत निर्माण गरेका छन् । 

पुर्वी नेपालका अधिकांस हिन्दु, बौद्ध, किराँत धर्मावलम्बीहरु ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गर्न जाने गरेका छन् । फुङलिङ नगरपालिकामा अवस्थित सो मन्दिरलाई धेरै भक्तजनको आस्थाको केन्द्र मानिन्छ । त्यही मन्दिरको नक्कल गर्दै इलामको कुटिडाँडामा केही बर्ष अघि अर्काे पाथीभरा मन्दिर स्थापना गरिएको थियो । झापादेखि छिटोमा तीनदिनको यात्रा गर्न समय नहुनेका लागि यो ‘सानो पाथीभरा मन्दिर’ अहिले उपयुक्त धार्मिक गन्तब्य बनेको छ । 

पाथीभराप्रति भक्तजनको बढ्दो आस्था देखेर झापाको मेचीनगरका केही राजनीतिकर्मी तथा सामाजिक अगुवाले सोही नामको मन्दिर स्थापना गर्ने निर्णय गरे । त्यसका लागि उपयुक्त स्थानको खोजीमा उनीहरु लागे । नेकपा एमालेका नेता हरिचरण बानियाँ, नेपाली कांग्रेसका तिलक गिरी, नेकपा माओवादी केन्द्रका स्व. हंसलाल राजबंशी लगायत स्थानीय सामाजिक अगुवा पाथीभरा मन्दिर स्थापना गरिछाड्ने ध्याउन्नमा लागे ।   

त्यसका लागि उनीहरुलाई प्रगति सामुदायिक बन उपभोक्ता समुहको बनक्षेत्र उपयुक्त लाग्यो । जंगलको बिचमा बरको रुख, त्यस रुखमा वरिपरी रबरको रुखले बेरिएको छ । पहिलो पटक यहाँ ‘दर्शन गर्न’ आउने भक्तजनलाई यो रुख अनौठो नै लाग्छ । यही रुखको फेदमा उनीहरुले ‘पाउ पाथीभरा मन्दिर’ बनाउने निर्णय गरे । र नामाकरण गरियो ‘श्री पाउ पाथीभरा उत्तरगंगा धाम’ । यो धामको प्रचार गर्ने उदेश्यले हालसम्म धेरै पटक महापुराण आयोजना भइसकेको छ । 

पाथीभरा मन्दिर जहाँ स्थापना भयो । त्यो स्थानभन्दा लगभग ५ सय मिटर पुर्वपटी रहेको फुलबासा खोला केही मिटर उत्तरतिर बगेर फेरि दक्षिण लागेको देखिन्छ । त्यही खोलालाई उनीहरुले ‘उत्तरगंगा’ नाम दिए । अनि पाउ पाथीभरासँग नाम जोडेर यसको पनि प्रचार प्रसार गर्न थालियो । 

प्रचार–प्रसार व्यापक भएपछि यहाँ भक्तजनको ओइरो लाग्न थाल्यो । दर्शन गर्न आउने भक्तले चढाएको भेटी बढ्न थालेपछि पाउ पाथीभरा उत्तरगंगा पर्यटन प्रवद्र्धन समितिले यहाँ कंक्रिटका संरचना निर्माण गर्न सुरु ग¥यो । स्वागतद्धार, पैदलमार्ग, मन्दिर परिसर, कार्यालय त्यहाँ कंक्रिटको निर्माण गरिए । पक्की शौचालय निर्माण हुँदै गर्दा उजुरी परेर रोकिएको छ । 

बनक्षेत्रमा किराँतेश्वर मन्दिर र पाथीभरा मन्दिर स्थापना भएपछि बौद्धमार्गीहरुले पनि त्यहाँ गुम्बा बनाउने निर्णय गरे । पहिला बनकै हातामा रहेको गुम्बा उनीहरुले २०७३ सालमा घना बन क्षेत्रमा सारे । दुईवटा धार्मिक संरचना निर्माण भईसकेका कारण सोही प्रकृतिको अर्काे संरचना निर्माण हुँदा नियामक निकायले त्यसलाई रोक्न सकेन । त्यसपछि कंक्रिटको बौद्ध गुम्बा तयार भयो । 

gumba

१५४ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक बनको अहिलेसम्म लगभग ३८ हेक्टर अतिक्रमणमा परेको छ । २०३६ साल अघिसम्म मेचीनगर–१२ को सामुदायिक बनक्षेत्रकै खाली जमिनमा मानिसको बसोबास थियो । सरकारले उनीहरुलाई अर्काे स्थानमा सट्टाभर्ना दिने निर्णय ग¥यो । त्यहाँका केहीले अर्काे स्थानमा सट्टाभर्ना पाएर बसाई सरे । ३८ परिवारले सट्टाभर्ना पाएका थिएनन् । उनीहरुले पुरानो थातथलो छोड्न मानेनन् । उनीहरु अहिले पनि सोही स्थानमा बसोवास गरिरहेका छन् । अहिले त्यहाँ बस्ती बढेर २ सय घरपरिवार भइसकेका छन् । लगभग ३० हेक्टर जमिनमा उनीहरुको बसोबास रहेको प्रगति सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष दिपेन्द्र निरौला बताउँछन् । 

बस्ती बाहेक तीनवटा धार्मिक संरचना बनक्षेत्रमा भएपनि सामुदायिक बनसँग कुनै संस्थाले स्थापनाका लागि सम्झौता भने गरेका छैनन् । सामुदायिक बनले बोटबिरुवालाई असर नपर्ने गरी पनि जमिन भाडामा दिन पाउँदैन । बनक्षेत्रभित्र कानुनले अनुमति दिएका अस्थायी संरचना निर्माण गरेर सामुदायिक बनले आफ्नै मातहतमा उपयोग गर्न भने पाउँछ । 

किराँतेश्वर मन्दिर र बौद्धगुम्बाको नियमित तथा बलियो आम्दानीको श्रोत छैन । पाथीभरा मन्दिरको भने दैनिक १ लाख रुपैंयाँ जति भेटी संकलन भइरहेको अध्यक्ष तिलक गिरी बताउँछन् । समितिले नियमित रुपमा लेखापरीक्षण गराइरहेको तथा संस्थामा पारदर्शिता अपनाइने नीति लिएको उनको दावी छ । तर, सामुदायिक बनको मातहतमा मन्दिरलाई लैजान भने उनले अस्विकार गर्ने बताएका छन् । 

बन ‌ऐन अनुसार समुदायिक बनको आम्दानीमध्ये २५ प्रतिशत बन बिकास, ५० प्रतिशत गरिबी निवारण र महिला उत्थान, १५ प्रतिशत प्रशासनिक खर्च र १० प्रतिशत सामाजिक कार्यमा खर्च गर्नुपर्ने हुन्छ । सामुदायिक बनको हातामा रहेको मन्दिरको भने करोडौं आम्दानी हुने गरेको भएपनि बन ऐन तथा नियमावलीमा प्रवेश गरेको छैन । अध्यक्ष गिरीकै शब्दमा ‘पाउ पाथीभरा मन्दिर स्वायत्त संस्था भएकाले सामुदायिक बनको मातहतमा आउँदैन ।’ मन्दिर सञ्चालक समितिले सामुदायिक बनको मातहतमा सञ्चालन हुनुपर्ने कुरा अस्विकार गरेको छ । 

डिभिजन बन कार्यालय झापाका प्रमुख मेघराज राईले चारआलीको पाउ पाथीभरा ‘धार्मिक पर्या पर्यटन सम्बन्धी कार्ययोजना’ निर्माण गर्न लागेको बताए । उनले सामुदायिक बन परिसरमा स्थापना गरिएको मन्दिरलाई सामुदायिक बन मातहतमा ल्याउने शैलीको कार्ययोजना निर्माण गर्ने जानकारी दिए । ‘सामुदायिक बनको मातहतमा आएर सञ्चालन हुने कुरा उहाँहरुले अस्विकार गर्नुहुन्छ भन्ने सुनेको छु, उनले भने–‘उहाँहरु कानुन बमोजिम सहमतिमा नआए मन्दिर उठाएर अन्यत्र लैजानुपर्छ ।’ डिभिजन बन कार्यालयले कानुन भन्दा बाहिर गएर कुनै समुहलाई जमिन भोगचलन गर्न नदिने उनले बताए ।