बिर्तामोड। बिगत बर्षहरुमा साउन २२ गते काेशी प्रदेश बन्द गर्दै आएकाे पहिचानवादी दलहरुले याे बर्ष बन्दकाे कार्यक्रम स्थगित गरेका छन् । ती दलहरुले जनचाहना बमाेजिम आन्दाेलनका कार्यक्रम परिमार्जन गरिएकाे घाेषणा गरेका छन् । 

तीनवटा समु्ह एकिकरण र सार्वजनिक कार्यक्रममा झापाकाे बिर्तामाेडमा आयाेजित कार्यक्रममा बन्द गर्ने कार्यक्रम स्थगित गरिएकाे जानकारी गराइयाे । कार्यक्रममा लिम्बुवानजन्य संगठन निर्माण गरेर आन्दोलनरत पुर्वका तीनवटा पाटीबिच पुन एकिकरण भएको जानकारी दिइएकाे थियाे । बिर्तामोडमा पत्रकार सम्मेलन गरेर उनीहरुले एकिकरण भएको जनाएका छन् । 

पञ्चायतकालदेखि नै लिम्बुवान राज्य प्राप्तिको आन्दोलन गरिरहेको केपी पालुङवा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी, सञ्जुहाङ पाल्ङवा नेतृत्वको संघीय लिम्बुवान राज्य परिषद र लोकतान्त्रिक समाजवादी पार्टीको भातृ संस्था लिम्बुवान राष्ट्रिय समितिबिच एकिकरण भएको हो । २०७९ फागुन २७ मा एकिकरण गर्ने सम्झौता गरेका उनीहरुले २०८१ बैशाखमा तीन बुँदै सहमति गरेर एकिकरण गर्ने निर्णय गरेको बताएका छन् । 

२०८१ जेठ २९ मा सो पार्टी निर्वाचन आयोगमा नयाँ पार्टी अद्यावधिक भएको अध्यक्ष केपी पालुङवाले जानकारी दिए । एकिकरणपश्चात पार्टीको नाम ‘नेपाल जनमुक्ति पार्टी’ रहने सहमति गरेको समेत उनले बताए । चुनाव चिन्ह घर र झण्डा निलो रङको बिचमा सिम्रिक अंकित रहने निर्णय भएको छ । 

एकतापछि पार्टीको अध्यक्षमा केपी पालुङवा र कार्यकारी अध्यक्ष केशव सुर्यबंशी रहने निर्णय भएको छ । यसैगरी सञ्जुहाङ पालुङवा पार्टीका नेता, भक्त खेवाङ उपाध्यक्ष लगायत तीनवटै पार्टीका पदाधिकारी र सदस्य यथावत रहने सहमति भएको उनले बताए । नवगठित नेपाल जनमुक्ति पार्टी ६९ सदस्यीय रहेको बताइएको छ । 

एकिकरण घोषणा कार्यक्रममा पार्टी नेता सञ्जुहाङ पालुङवाले बिचार मिल्ने दलहरुको बलियो शक्ति बनाएर संयुक्त रुपमा आन्दोलन गर्न एकिकरण गरिएको बताए । उनले राज्यको मुल प्रवाहमा आईनसकेका जनताहरुलाई अब झन् किनारा लगाउने ठुला दलहरुको प्रतिरोध गर्न एकिकरण गर्नुको विकल्प नभएको बताए । 

यसैगरी हरेक बर्ष साउन २२ गते गर्दै आएको लिम्बुवान बन्द कार्यक्रम यस पटक स्थगित गरिएको पार्टीले जनाएको छ । जनताको मर्म बुझेर यो पटक बन्द आयोजना नगर्ने निर्णय भएको पार्टीका केन्द्रिय सदस्य एलबी पालुङवाले जानकारी दिए । ‘१८३१ साउन २२ गते तत्कालिन नेपाल सरकार र लिम्बुवानबिच नुनपानी सम्झौता’ भएको थियो । त्यो सम्झौताको बिरोध गर्दै हरेक बर्ष साउन २२ गते पुर्वमा बन्द आह्वान गर्दै आएका दलहरुले आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेका हुन् । 

उनीहरुले पुर्वका सबै जिल्लाहरुमा त्यस दिन कालो झण्डा गाड्ने कार्यक्रम अघि सारिएको बताएका छन् । त्यसका साथै बहुल राष्ट्रिय बिद्रोहबारे बुझाउन जनतामाझ जाने निर्णय गरिएको उनले बताए । 

नेपाल जनमुक्ति पार्टीले अहिलेको सरकारलाई निरंकुशतातर्फ उन्मुख भइरहेको आरोप लगाएको छ । वर्तमान गठबन्धनलाई अप्राकृतिक गठबन्धनको सज्ञा दिएको पार्टीले एउटा सत्ता र एउटा प्रतिपक्षमा हुनुपर्ने दलहरुको गठबन्धन मुलुकका लागि हितकारी नहुने निष्कर्श निकालेको छ । जनताका अधिकार अब झन खोसिने भय बढेका कारण एकताबद्ध हुन अन्य पार्टीहरुलाई आह्वान गरिएको छ ।