मेचीनगर । मेचीनगर नगरपालिको कार्य सम्पादन सम्बन्धमा चरम असन्तुष्टि जनाउँदै नेपाली काँग्रेससहितका ७ दलले ध्यानार्षण गराएका छन् । 

शुक्रबार दलबलसहित नगरपालिका परिसरमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा एकिकृत समाजवादी गरी ७ दलका तर्फबाट संयुक्त ज्ञापन पत्र बुझाइएको छ । 

ज्ञापन पत्रमा विगत केही समयदेखि नगरबाट भएका गलत कार्यहरुले नगरवासीहरु नै जोखिममा परिरहेको उल्लेख छ । नगर नेतृत्वको हैकमबादी प्रवृत्ति हावी हुँदै गएको बताउँदै विगतमा राजनीतिक दलका तर्फबाट भएका खबरदारीको बेवास्ता गरिएको विज्ञप्तिमा भनिएको छ । 

२१ बुँदे ज्ञापन पत्रमा नगरले हचुवाको भरमा निर्णय गर्ने र जनदबाव आएपछि फिर्ता हुने गरेको उल्लेख छ । मापदण्ड विपरीत खोला उत्खनन् गर्दा अनाहकमा ज्यान गुमाएका शिक्षक धनराज भण्डारी र परिवारप्रति नगर सम्वेदनशील हुन नसकेको साथै सोको लागि सर्वदलीय छानवीन समिति गठन गरी दोषीलाई कडा कारवाही गर्न भनिएको छ । 

त्यस्तै मेचीनगरको एक रेडियोमार्फत वडा अध्यक्ष अर्जुन कार्कीले भ्रष्टचारको विषयमा नगर माथिनै गम्भीर आरोप लगाउँदा समेत मौन रहेको, छलफल नगरी नगरमा गौरवका योजना ल्याउने गर्ने गरेको, नगर अस्पताल, ‘भ्यू–टावर’, बहुजातीय सङग्राहलय, ‘ल्याण्डफिल्ड साईड’ यथाशीघ्र सञ्चालनमा ल्याउनु पर्ने माग गरिएको छ ।

नगर परिसर भित्रै सेवाग्राही कुटिने गरेको, शिक्षालय तथा बजारको प्रभावकारी अनुगमन हुन नसकेको, खाद्य प्रयोगशाला स्थापनामा ढिलाई, कर्मचारी माथि हातपातले घटनाले असुरक्षा बढाएको तथा छानवीन समितिबाट विभिन्न घटना सम्बन्धमा भएका प्रतिवेदन सार्वजनिक नगरेको बताइएको छ । 

विज्ञप्तिमा बाहुण्डाँगीको हात्ती समस्या, सामुदायिक विद्यालय तथा क्याम्पसका समस्या, कृषिमा अनुदानका विषय उठान गरिएको छ । 

कानुन विपरीत कर्मचारी नियुक्त रोक्न आग्रह गर्दै नगरका सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने, वडा नं १४ मा रहेको होल्डिङ सेन्टरलाई कृषि केन्द्रमा विकास गरिनुपर्ने, सुकुम्बासी समस्याको समाधानमा लाग्न भनिएको छ । 

नगरले हालै ल्याएको बजेट कार्यकर्तामूखी भएका वितरण गरिएको जनाउँदै एकाङ्की रुपमा गठन गरिएका समितिहरु प्रति आपत्ती प्रकट गरिएको छ । 

घातक रोगीको उपचार, मेची आम्दा अस्पताललाई व्यवस्थित बनाइ नगरवासीको सेवामा गम्भीर बन्न आग्रह गरिएको छ । 

यसअघि समेत पटक÷पटक विज्ञप्ति बुझाउने गरिएको जनाउँदै विज्ञप्तिको फेरि पनि बेवास्ता गरिए कडा आन्दोलन गर्ने उल्लेख छ । 

ज्ञापन पत्र बुझ्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले कतिपय कानुनी उल्झनका कारण कामहरु गर्न नसकि रहेको स्वीकार गरे । उनले राजनीतिक दलका तर्फबाट भएका खबरदारीबाट नगरको ध्यानकर्षण भएको बताउँदै उठान गरिएका विषयवस्तु माथि गम्भीर बन्ने बताए ।

नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज माधव अर्यालले सहजीकरण गरेको कार्यक्रममा नेपाली काँग्रेस क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले वाचन गरेका थिए । विज्ञप्तिमा सात दलका क्षेत्र तथा नगरका प्रमुखहरुले हस्ताक्षर गरेका छन् ।