बिर्तामोड । प्रभु बैंक बिर्तामोड शाखाको रकम अपचलन प्रकरणका मुख्य अभियुक्त मानिएका प्रमोद सिटौलाको परिवारले उनको खोजतलास गर्न माग गरेका छन् । 

झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरेर सिटौलाको परिवारले उनको खोजतलास गर्न माग गरेका हुन् । सिटौला साउन १६ गतेदेखि बेपत्ता रहेका छन् । उनको हालसम्म अवस्था अज्ञात छ । 

नेपालका श्रीमान टिकाराम नेतीले प्रभु बैकको बिर्तामोड शाखामा १ करोड १० लाख ४३ हजार रुपैयाँ ६ महिनाका लागि मुद्दती खातामा जम्मा गरेका थिए । मुद्दती खातामा जम्मा भएको रकम निकाल्ने समय अवधी पुरा भएपछि उनी बैंकमा रकम निकाल्न गएका थिए । बैंकमा रकम नभएपछि उनले पुरानो चिनजान रहेका त्यहीका कर्मचारी सिटौलालाई रकमको बारेमा सोधखोज गरेका थिए । सिटौलाले फोनमा चित्तबुझ्दो जवाफ नदिएपछि उनी उनका दाजु स्वागत नेपाल र नातेदार तुलसी उप्रेतीलाई लिएर सिटौलाको घर भद्रपुर नगरपालिका–७ मा गएका थिए । 

साउन १६ गते बिहान सबेरै सिटौलाको घर पुगेका नेपालले उनलाई आफ्नै गाडीमा बिर्तामोड लिएर आएका थिए । बिर्तामोडमा नेपालकै स्वामित्वमा रहेको होटल ‘द मोमो फ्याक्ट्री’ मा बसेर छलफल गरिरहेको समयमा सिटौला बेपत्ता भएको नेपालले बताएका छन् । 

सिटौलाका मामा कृष्ण प्रसाईँले प्रभु बैंक प्रकरणपछि परिवार पीडित बनेको बताए । उनले प्रहरी प्रशासनले समेत खोजतलासका लागि दिएको निवेदन दर्ता नगरेको बताए । पटक–पटक जिल्ला प्रहरी कार्यालयमा उजुरी लिएर जाँदासमेत कार्यालय प्रमुख एसपी मिलन केसीले वास्ता नगरी फर्काएको उनले बताए । 

सिटौलाकी आमा पवित्रा सिटौलाले खानासमेत राम्ररी खान नदिई नेपालकै गाडीमा हालेर लगिएको छोरा ९ दिनसम्म पनि सम्पर्कमा नआउँदा बिछिप्त भएको बताएकी छन् । उनले मुलुकमा कानुनी राज्य छ भने, आफ्नो छोराको खोजतलास गरी सार्वजनिक गरिदिन सम्पुर्ण सरोकारवाला निकायसमक्ष आग्रह गरेकी छन् ।

सिटौलाका श्रीमती एलिसा बुढाथोकीले उनको खोजलतलास गर्न प्रसासनसँग माग गरेकी छन् । उनले नेपाल दाजुभाई र नेपालका नातेदार उप्रेतीलाई आफ्नो श्रीमानको अवस्था सार्वजनिक गर्न माग गरेकी छन् । उनले नेपाल दाजुभाईले भद्रपुरस्थित घरबाट लिएर हिडेपछी उनीहरुले नै बेपत्ता बनाएको आरोप लगाएकी छन् । उनले आफ्नो श्रीमानले गल्ती गरेको भए कानुनी दायरामा पु¥याउनु पर्नेमा कानुन हातमा लिएर अपहरण शैलीमा बेपत्ता बनाएको आरोप लगाईन् । 

रकम अपचलन प्रकरण बाहिरिए लगत्तै बैंक व्यवस्थापनले सिटौलालाई निलम्बन गरेको थियो । बैकका नायब कामु कार्यकारी अधिकृत मनिराम पोखरेलले बिञप्ती जारी गर्दै सिटौलालाई निलम्बन गरेको बताएका हुन् । बैंकले रकम अपचलन प्रकरणमा छानबिन गरिरहेको बैंक व्यवस्थापनले जनाएकाे छ ।