दमक । झापाको दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले ५ जनाभन्दा बढी जनशक्तिलाई रोजगारी दिने व्यक्तिलाई ऋणको ब्याजमा सहुलियत दिने भएको छ । मुलुकमा व्याप्त बेरोजगारी समस्यालाई केही हद सम्म भएपनि अन्त्य गर्न पहल लिने व्यक्तिलाई हौसला प्रदान गर्नका लागि व्याजमा सहुलियत दिन लागेको संस्थाले जनाएको छ । 

संस्थाको २८ औ बार्षिकोत्सबको पुर्व सन्ध्यामा सोमबार दमकमा आयोजित पत्रकार सम्मेलनमा संस्थाले आगामी दिनमा अवलम्बन गर्ने बिभिन्न नीतिको बिषयमा जानकारी प्रदान गरिएको थियो । संस्थाका अध्यक्ष नारायण भट्टराईले आगामी बर्ष समग्र ऋणमा १ दशमलब ५ प्रतिशत र बचतमा १ प्रतिशत ब्याजदर घटाइएको जानकारी दिए । 

उनले मेची सहकारी सुरक्षित रहेको जनाउँदै सञ्चालकहरु ईमान्दार भए कुनै पनि सहकारीहरु संकटमा नआउने दावी गरे । ‘कतिपय सहकारीमा सञ्चालकले नै धेरै ऋण लिएर तिरेका छैनन, तिनिहरु समस्यामा परेको देखिन्छ, भट्टराईले भने–‘जमिनको मुल्य उच्च भएका समयमा संस्थाको आर्थिक क्षमता बिश्लेषण नगरी धेरै जमिन खरीद गर्ने र अस्वस्थ प्रतिष्पर्धा गर्ने नाममा बिनाधितो ऋण प्रवाह गर्नेहरु संकटमा छन् ।’ भट्टराईले सहकारी सहकारीकोे मुल्य मान्यता आत्मसाथ गरेर सञ्चालन भएका संस्थाहरु कहिले संकटमा नपर्ने दावी पनि गरे । १६ हजार ३४८ जना सदस्य रहेको मेची सहकारीको बित्तीय अवस्था मजबुद रहेको उनले बताए । 

संस्थाले यो बर्ष ३ अर्ब ८७ करोड रुपैंयाँको ब्यालेन्स सिट बनाउन सफल भएको संस्थाका कार्यकारी प्रमुख खोमप्रसाद बगालेले जानकारी दिए । ३७ करोड १८ लाख ९० हजार ४०० शेयर पुँजी रहेको सहकारीले ९ करोड ७५ लाख ९५ हजार रुपैंया  खुद नाफा आर्जन गरेको उनले बताए । यस अवधिमा संस्थाले सरकारलाई तीन करोडभन्दा धेरै कर तिरेको जानकारी उनले दिए । १२ वटा सेवा केन्द्र रहेको संस्थामा १०० जना कर्मचारी कार्यारत रहेका छन् । 

स्मार्ट कर्जाको सुरुवात गर्ने भएको छ । संस्थाले बहुबर्षे परियोजनाहरुमा लगानी गर्ने नीति अघि सारेर स्मार्ट कर्जा सुरु गर्ने भएको हो । जुन ऋण हरेक दुई बर्षमा नविकरण गर्नुपर्ने छ । कृषि, कलकारखाना, हाइड्रो पावर लगायतको निर्माणमा स्मार्ट कर्जा उपलब्ध हुने बताइएको छ । संस्थाले यो बर्ष बाह्य कर्जा शुन्य बनाउने निर्णय गरेको जनाएको छ । 

सामाजिक उत्तरदायित्व अन्तर्गत २५ जना सडक बालबालिकालाई १२ सम्मको अध्ययन गराइरहेको सहकारीले जनाएको छ । उनीहरुलाई भविष्यमा सोही संस्थामा रोजगारी प्रदान गरिनेसमेत जनाइएको छ । यसका अतिरिक्त रगतको अभाव भएको समयमा बिभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिरहेको संस्थाले जनाएको छ । 

संस्थाले साधारणसभाको अवसरमा सहकारी अभियन्ता ऋषिराम घिमिरे, पत्रकार गोपाल काफ्ले र सुदिप अधिकारीलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने तयारी रहेको जनाएको छ । भदौ १२ गते हुने कार्यक्रममा उनीहरुलाई सम्मान गरिने भएको हो ।