बिर्तामोड । काठमाण्डौमा मुख्य कार्यालय भई झापाको बिर्तामोडमा कारोबार सञ्चालन गरिरहेको नेपाल सहकारी वित्तीय संस्थाले सयौ बचतकर्ताको लाखौं रकम फिर्ता नदिई कार्यालय बन्द गरेको छ ।
बिर्तामोडको भद्रपुर रोडमा शाखा कार्यालय सञ्चालन गरेको सहकारीले साउन १६ गतेदेखि बचत संकलन गर्न बन्द गरेको हो । सो सहकारी संस्थालाई साउन १० गते भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको थियो । काठमाण्डौको बानेश्वरमा मुख्य कार्यालय रहेको सो सहकारी सहकारीको ऐन, नियम, मुल्य, मान्यता विपरीत बचतकर्ताको रकम फिर्ता नगरेपछि मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको थियो ।
समस्याग्रस्त घोषणा भएको नेपाल सहकारी वित्तीय संस्थाको सम्पती व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि सोही ऐन बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको बताइएको छ ।
देशभर शाखा कार्यालय स्थापना गरेर कारोबार गरिरहेको सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा हजारौं बचतकर्ताहरुको बचत रकम जोखिममा परेको छ । बिर्तामोड–४ मा बिजुलीको सामान बिक्री गर्ने पसल सञ्चालन गर्दै आएकी राधा राजबंशीले घरभाडा तिर्न भनेर ३० हजार रुपैंयाँ बचत गरेकी थिइन् । बिनासुचना सहकारी बन्द भएपछि भाडा कसरी तिर्ने भनेर अन्यौल उत्पन्न भएको उनले बताइन् ।
यस्तै बिर्तामोडकै प्रतिमा राउतले पनि सो सहकारीमा रकम बचत गरेकी थिइन् । उनले बचत रकम फिर्ता लिन चेक लिएर जाँदा सहकारीमा ताल्चा लगाइरहेको देखेपछि त्यतिकै फर्किएको बताइन् । उनले सहकारीले सुचना नगरी बन्द हुँदा रकम फिर्ता हुनेमा आशंका उत्पन्न भएको जानकारी दिइन् ।
सहकारीको बिर्तामोड शाखामा व्यवस्थापक पदमा कार्यारत विकास अधिकारीले बिर्तामोड शाखाको हकमा रकम फिर्ता गर्न सहज रहेको बताए । ‘म पनि बिर्तामोडकै मान्छे हो, सहकारीमा केही समय काम गरेको हो, यहाँ रकम फिर्ता गर्न अप्ठ्यारो छैन, अधिकारीले भने–‘ लगभग ८ सय सदस्य रहेको सहकारीमा ऋण लगानी र बचतको अवस्था हेर्दा बचतकर्ता डराइहाल्नु पर्ने अवस्था देखिन्न ।’ उनले आफु अहिले काठमाण्डौमा रहेको जानकारी दिंदै समस्या समाधानका लागि मुख्य कार्यालयमा अनुरोध गरिरहेको बताए ।