बिराटनगर । काेशी प्रदेश सरकारलाई नेपाल कम्यु्निष्ट पार्टी माओवादी केन्द्रले दिएकाे समर्थन फिर्ता लिएकाे छ । नेपाली कांग्रेससँग नेकपा एमालेले गठबन्धन गरी सरकार निर्माण गरेपछि नेकपा माओवादी केन्द्रले कार्की नेतृत्वकाे सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे हाे ।नेकपा माओवादी केन्द्र संसदीय दलकाे कार्यालयमा आज बसेकाे बैठकपछि समर्थन फिर्ता लिने निर्णय गरेकाे संसदीय दलका नेता समेत रहेका पुर्वमन्त्री ईन्द्र बहादुरआङ्बाेले जानकारी दिए ।
साउन ११ गते सरकारबाट बाहिरिएकाे माओवादीले समर्थन भने फिर्ता लिएकाे थिएन । प्रदेशसभाकाे बैठक बस्नु अगाडि नै समर्थन फिर्ता लिने निर्णय भएकाे उनले बताए । नेपाली कांग्रेस आजैदेखि सत्तापक्षकाे बेञ्चमा बस्ने भएकाे छ । तर, आन्तरिक किचलाेका कारण कांग्रेसले सरकारमा सहभागी हुन मन्त्रीहरु पठाउन सकेकाे छैन ।
बैशाख २७ गते नेपालकाे संविधानकाे धारा १६८ काे उपधारा ५ बमाेजिम नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई नेकपा माओवादीका १३ र एमालेका ४० सांसदकाे समर्थन प्राप्त भएकाे थियाे । असार १७ गते फेरिएकाे राजनीतिक समिकरण अनुसार कांग्रेस र एमालेबीच सरकार बनाउने निर्णय भएकाे थियाे । अब ३० दिनभित्रमा कार्कीले फेरि बिश्वासकाे मत लिनु पर्ने हुन्छ ।