जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतीसकुमार सिंहले जनकपुरधाममा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय बहुउद्देशीय रंगशालाका लागि प्रदेश सरकारले एक अर्ब रुपैयाँ दिने बताएका छन् ।
जनकपुरधाममा आइतबारदेखि सुरु भएको जय ट्रफी (एलिट कप)को उदघाटन समारोहमा मुख्यमन्त्री सिंहले रंगशालाको डीपीआर तयारको काम लगभग सम्पन्न भइसकेको जानकारी दिए ।
मुख्यमन्त्री सिंहले मधेश प्रदेशका युवाहरुलाई कुनै न कुनै खेलमा आवद्ध हुन आग्रह गरे । खेलकुदको विकासमा मधेश प्रदेश सरकार सधैं सकारात्मक रहेको र आगामी दिनहरुमा झन बढी लगानी गर्ने सोच बनाएको बताए । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आइतबारदेखि सुरु भएको प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेस प्रदेशले प्रतिस्पर्धा गर्दै छन् ।
क्यानका सचिव पारस खडकाले नेपाली क्रिकेटलाई थप मजबुत बनाउनका लागि रेड बल क्रिकेट आवश्यक रहेकाले प्रतियोगिताको आयोजना गरिएको बताए। प्रधानमन्त्री कपका शिर्ष चार टोलीलाई समावेश गरेर प्रतियोगिताको आयोजना गरिएपनि पूर्वाधारहरु देशको विभिन्न स्थानमा तयार भएपछि प्रतियोगितलाई थप विस्तारित बनाइने खड्काले बताए । पूर्वाधार तथा आयस्रोतको अभावका कारण कम टिमलाई मात्रै राखेर यो प्रतियोगिताको आयोजना गरिएको बताउँदै खडकाले तीनवटै तहका सरकारलाई खेल मैदान निर्माणमा ध्यान पुर्याउन आग्रह गरे ।