अर्जुनधारा। अर्जुनधारा नगरपालिकाले नगरक्षेत्रमा उत्पन्न भूमि सम्बन्धि समस्या समाधानका लागि यश क्षेत्रबाट निर्वाचित सांसद तथा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई निम्त्याएको थियो ।
भूमि सम्बन्धी समस्या नै समस्या रहेको यश नगरमा सभामुखले समन्वय गरेर ती समस्या हल गर्ने अपेक्षा राखिएको थियो ।
सभामुख भन्दा पहिला भूमी सरोकार समितिका नगर संयोजकसमेत रहेका एमालेका स्थानीय नेता वीरबहादुर राईले नगरभरीको समस्याका बिषयमा मन्तब्य राख्न भनियो । उनले नगरका वडा न १ देखि ११ सम्मका समस्याको फेहरिस्त सुनाए ।
सम्वोधनका क्रममा राईले समस्या मात्र सुनाएनन् । ती समस्या समाधानका लागि माथिल्लो ओहदामा रहेका नेतृत्वले 'केही गर्न नसकेको' समेत भने । बिर्तामोड बसपार्कको जमिनका बिषयदेखि वडा न १ मा रहेको सेना र स्थानीय नागरिकबिच जमिनको स्वामित्वको बिषयमा भईरहेको द्वन्द समाधानमा यश क्षेत्रबाट निर्वाचित नेतृत्वले केही गर्न नसकेकको आरोप उनले लगाए । बर्ष बितिसक्दा पनि समस्याको समाधान नहुँदा उनले आक्रोश व्यक्त गरेका थिए ।
राईले यसअघि सभामुख घिमिरेले १५ दिनभित्र केही गर्छु भनी आश्वासन दिएकोमा अहिलेसम्म केही नभएको गुनासो गरेका थिए । उनले ‘हुन्छ बहादुर र भोलि बहादुर’ भन्ने प्रवृत्ति नहटेको बताएका थिए ।
बिर्तामोड बसपार्कबासीका तर्फबाट सुजन शिवाकोटीले ज्ञापनपत्र बुझाउँदै दीर्घकालीन रुपमा आफूहरुको समस्या समाधान नभए जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
राईपछि अरु स्थानीयले पनि समस्या भूमि सम्बन्धी फरक फरक समस्या सुनाएका थिए । समस्या राख्नेमा अधिकांस एमालेका स्थानीय नेता थिए ।
अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका घिमिरेले त्यसपछि सरोकारवालाहरुलाई थर्काएका छन् ।
आफूलाई ‘हुन्छ बहादुर र भोलि बहादुर’ भनेकोमा चित्त दुखाउँदै सभामुख घिमिरेले झापाका जिम्मेवार व्यक्तिहरुबाट आएको त्यस किसिमको हल्का टिप्पणीबाट समस्या हल नहुने जवाफ दिए । अहिले चुनावको बेला नभएको भन्दै उनले आक्रोशित हुँदै भने,‘ अहिले चुनाव आएको छ र ? जे पनि भन्दिने ।’ यो तरिका बेठीक भएको भन्दै उनले राजनीतिलाई कमजोर पार्ने कोसिस नगर्न चेतावनीसमेत दिएका छन् ।
आफू सम्माननीय हुनुभन्दा पहिला यसै क्षेत्रबाट निर्वाचित सांसद भएको नबिर्सिन उनले सम्झाए । हरेक नागरिकको निर्वाचनमा भाग लिने अधिकार हुन्छ भन्दै उनले क्षेत्र भ्रमणको समयमा आउदा भोट माग्नै आएजस्तो नसोच्न चेतावनी दिए । उनले भने-'निर्वाचनको बेला भोट मागौंला, अहिले त्यसरी जिम्मेवार व्यक्तिबाट हलुका टिप्पणी नगर्नुहोस ।'