अर्जुनधारा । झापाको अर्जुनधारामा अन्तरमावी पुरुष नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । 

अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा माघ २ गतेदेखि प्रतियोगिता सुरु गरिने आयोजकले जनाएको छ । 

प्रतियोगितामा नगरका निजी र सरकारी १४ वटा बिद्यालयका बिद्यार्थीको सहभागिता रहने नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले जमनकारी दिए । 

स्थानीय गोलधाप युवा परिवारको व्यवस्थापनमा अर्जुनधारा-९ को नमुना खेल मैदानमा हुन लागेको प्रतियोगिता माघ-५ गते समापन हुने छ । 

प्रतियोगिताको बिजेताले नगद ३० हजार  र उपविजेताले २० हजार पाउने छन् । प्रत्येक खेलको प्लेयर्स अफ द म्याचले नगद १ हजार र फाइनलका प्रत्येक बिधाका उत्कृष्ट खेलाडि र अफिसियलले जनही २ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगिता सम्पन्न गर्न ३ लाख २० हजार रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । 

पत्रकार सम्मेलनमा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले, रेफ्री संघका केन्द्रीय सदस्य प्रदीप बस्नेत, नगर खेलकुद बिकास समितिका सल्लाहकार वीरबहादुर राई लगायतको आतिथ्यता रहेको थियो ।