बिर्तामोड । अर्जुनधारा नगरपालिका–२ को शान्ति सामुदायिक वन उपभोक्ता समुहले कटान आदेशबिनै सखुवाका रुख काट्ने गरेको पाइएको छ । कटान आदेशबिनै सखुवाको रुख काटेर ढुवानी गर्दै गर्दा राष्ट्रिय युवा संघले नियन्त्रणमा लिएपछि सामुदायिक बनकै पदाधिकारी काठ तस्करीमा संलग्न हुने गरेको पाइएको हो ।
मंगलबार बिहान कटान आदेश नलिई काटिएको अन्दाजी १ सय ३ क्युबिक फिट सखुवाको गोलिया ढुवानी गर्दै गर्दा नेकपा एमालेको भातृ संस्था युवा संघले अवरोध गरेको थियो । युवा संघले नियन्त्रणमा लिएपछि प्रहरी र वन कर्मचारीलाई खबर गरेर ट्याक्टरसहित गोलिया बुझाएको युवा संघका नगर कमिटी अध्यक्ष धिरज मोक्तानले बताए ।
अहिले गोलिया र ट्याक्टर शान्ति सामुदायिक बनको घाटगद्धीमा रहेको छ । घटनाको थप अनुसंधान भइरहेको डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले जानकारी दिए । उनले सामुदायिक वनले कटान तथा छपान आदेश नलिएको पनि बताए । गैरकानुनी रुपमा सखुवाको काठ कटानमा सामुदायिक वनका पदाधिकारी नै संलग्न रहेको राईले बताए ।
घटनाको अनुसंधान गरिरहेका सहायक वन अधिकृत सुरेश खनालले हराउने वा नष्ट हुने अवस्थामा वन क्षेत्रमा भेटिएका गोलियाहरु सामुदायिक वनले आफै संकलन गर्न सक्ने बताए । संकलनपछि घाटगद्धीमा ल्याएर कटान आदेश लिनसक्ने व्यवस्था पनि रहेको उनको भनाई थियो । तर, त्यसका लागि स्थानीय तहका जनप्रतिनिधिको रोहबरमा फोटो, भिडियो बनाएर मात्र काम गर्ने प्रावधान रहेको उनले बताए ।
सामुदायिक वनले खनाले भनेजस्ता केही प्रक्रिया अवलम्बन नगरेको उनले बताए । ‘कटान आदेश बिनै सखुवाका रुख काटेर ढुवानी गर्दै गरेको सुचना पाएपछि हामीले त्यसलाई नियन्त्रणमा लिएका हौं, खनालले भने–‘छानविन सुरु भएको छ, सम्भवत सामुदायिक वनका पदाधिकारी नै यसमा मुछिने सम्भावना छ ।’
शान्ति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष खगेन्द्र कोईरालाले भने वन कार्यालयका कर्मचारीसँग एउटा तस्करले काटेको र अर्काे जरासहित ढलेको रुख संकलन गरेको भन्ने जवाफ दिएको उनले बताए । तस्करले काटेको अवस्थामा भेटिएको हो भने पनि सामान्य प्रक्रिया पनि पूरा नगरेका कारण यो घटना अवैधानिक भएको उनको भनाई छ ।