बिर्तामोड । झापामा टेवल टेनिसको व्यबसायिक रुपमा प्रशिक्षण सुरु हुने भएको छ । झापा जिल्ला टेवल टेनिस संघको संयोजनमा बिर्तामोडमा टेवल टेनिसको नियमित प्रशिक्षण सुरु हुने भएको हो ।

बिग ब्रदर ब्याडमिन्टन हलमा दक्ष प्रशिक्षकद्वारा टेवल टेनिससहित ब्याडमिन्टन, चेस र डार्ट खेलको नियमित प्रशिक्षण हुन लागेको संघले बिर्तामोडमा पत्रकार सम्मेलन गरेर जनाएको छ ।

बिर्तामोड-५ को तिनकुनेमा रहेको हललाई ईण्डोर गेमका लागि उपयोग गर्न थालिएको छ । खेलाडी उत्पादन गर्ने योजनासहित हल सञ्चालनमा ल्याइएको हो । व्यवस्थित ब्याडमिन्टन हलको आवश्यकता महसुस गरि खोलिएको यस सुविधासम्पन्न ब्याडमिन्टन हलमा आफ्नो स्वास्थ्यप्रति सचेत रहेका बिर्तामोडका धेरै प्रशिक्षार्थीहरु ब्याडमिन्टन प्रशिक्षणका लागि आउने गरेका छन् ।

बिर्तामोडको मध्य भागमा रहेको यो हलको पूर्णरुपमा उपयोग गर्नका लागि व्याडमिन्टनका अतिरिक्त अरु ‘इन्डोर खेल’ पनि समावेस गर्ने तयारी गरिएको सञ्चालक उमेश बोहराले बताए ।

त्यस हलमा ब्याडमिन्टनसँगै टेबल टेनिस, डार्ट, सुटिङ र चेसजस्ता खेल सञ्चालन गर्ने तयारी गरिएको बताउँदै हरेक खेल दक्ष प्रशिक्षकको प्रत्यक्ष निगरानीमा सञ्चालन भइरहेको संचालक उमेश बोहराले जानकारी दिए । पत्रकार सम्मेलनमा उनले भने ,‘हाम्रो उद्देश्य भनेको यस हललाई इन्डोर खेलकुदको ‘हब’ बनाउनु रहेको छ । त्यसका लागि पूर्वाधार तयार छ भने प्रशिक्षकको व्यवस्था पनि भईसकेको छ । साथै, उच्च प्रविधि तथा उपकरणहरु प्रयोग गरि प्रशिक्षण दिने प्रतिवद्धता समेत व्यक्त गर्दछौं ।’

बिग ब्रदर ब्याडमिन्टन हलसंग झापा टेबल टेनिस संघले सहकार्य गरेको हो । झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत रहेको झापा टेबल टेनिस संघले झापा जिल्ला खेलकुद विकास समितिसँग सहकार्य गरि निकट भविष्यमा टेबल टेनिसको जिल्ला स्तरीय प्रतियोगिता सञ्चालन गर्ने तयारी रहेको झापा जिल्ला टेबल टेनिस संघका अध्यक्ष सन्तोष अग्रवालले जानकारी दिए । उनले जेठको अन्तिम साता सो प्रतियोगिता गरिने जानकारी दिए ।

झापा जिल्ला टेबल टेनिस संघको आयोजना तथा बिग ब्रदर ब्याडमिन्टन हलको संयोजनमा हुने प्रतियोगितामा झापा जिल्लाभरिका खेलाडीहरुको सहभागिता रहने अग्रवालले जानकारी दिए । बिग ब्रदर हलमा टेबल टेनिस हलको बैशाख १३ गते शनिबार उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।