बिर्तामोड । झापाको बिर्तामोडमा काठमाडौं इन्फोसिस एजुकेशनल कन्सल्टेन्सी (केआइईसी) को शाखा सञ्चालनमा आउने भएको छ ।
जेठ २५ गतेदेखि बिर्तामोडको भद्रपुर रोडमा केआइईसीको शाखा सञ्चालनमा आउने भएको हो । शाखा सञ्चालनको अवसरमा ‘केआइईसी रोड शो’ आयोजना गरिने सञ्चालक आलोक कार्कीले जानकारी दिए।
रोड शोमा पाँच वटा मुलुकका १२ वटा युनिभर्सिर्टीका प्रतिनिधिले त्यहाँ अध्ययन गर्न चाहने विद्यार्थीलाई निःशुल्क परामर्श दिने सञ्चालक कार्कीले बताए । रोड शोमा केआईईसीका प्रबन्ध निर्देशक राजेन्द्र रिजालमेत सहभागी हुने छन् ।
रोड शोमा अष्ट्रेलिया, क्यानाडा, यूके, यूएसए र न्यूजिल्याण्डका ख्यातिप्राप्त १२ युनिभर्सिटीका प्रतिनिधिले सोझै विद्यार्थीलाई परामर्श प्रदान गर्ने छन् । “हामीले भन्दा कलेजकै प्रतिनिधिले वास्तविक कुरा विद्यार्थीलाई अझ राम्ररी बुझाउन सक्नुहुन्छ”, सञ्चालक कार्कीले भने।
विद्यार्थीको आर्थिक, पारिवारिक अवस्था, इच्छा, पढ्न चाहने विषय र कलेजका बारेमा प्रतिनिधिहरुसँग विद्यार्थीले राम्ररी बुझ्न सक्ने उनले बताए । १२ वटा प्रतिनिधिका छुट्टाछुट्टै स्टल हुने र ती सबै स्टलमा गएर विद्यार्थीले निःशुल्क परामर्श लिन सक्ने छन् ।
केआइईसी रोड शोको अवसरमा आउने विद्यार्थीलाई विशेष छात्रवृत्ति प्रदान गरिने कन्सल्टेन्सीका प्रबन्धक सुशील भण्डारीले बताए। “पहिलो दिन आउनेलाई आइएलटीएस र पीटीई कक्षामा विशेष छात्रवृत्ति प्रदान गरिनेछ”, उनले भने, “थप अन्य धेरै कुरामा सहुलियत प्रदान गरिनेछ ।”
अष्ट्रेलिया, बंगलादेश र यूकेमा कार्यालय रहेको केआइईसीको नेपालमा झापाको बिर्तामोड १६ औं शाखा रहेको अर्का सञ्चालक प्रितम कोइरालाले जानकारी दिए । “केआइईसीले नेपालमा १९ वर्षदेखि सेवा प्रदान गर्दै आएको छ”, उनले भने, “अहिलेसम्म पाँच हजार भन्दा बढी विद्यार्थीलाई विदेश अध्ययनका लागि पठाइसकिएको छ ।”
सुशील भण्डारी, आलोक कार्की, प्रितम उप्रेती, सुमन श्रेष्ठ र विवेक नेपाल गरी छ जना युवाहरुको संयुक्त लगानीमा कन्सल्टेन्सी सञ्चालनमा आउन लागेको हो । कन्सल्टेन्सीले विदेश अध्ययनका लागि जाने विद्यार्थीलाई परामर्शसहित तयारी कक्षा, डकुमेन्टेसन लगायतका विषयमा सहजीकरण गर्ने सञ्चालक नेपालले जानकारी दिए ।