बिर्तामोड । स्वास्थ्य पर्यटन, उद्योग पर्यटन तथा समग्र व्यवसायीलाई एउटै छानामुनि ल्याउने उद्देश्यले हुनलागेको हेल्थ टुरिजम मार्टको तयारी पूरा भएको छ । बिर्तामोडमा हुने स्वास्थ्य पर्यटन प्रबद्र्धन कार्यक्रमअन्तर्गत दोस्रो संस्करणको हेल्थ टुरिजम मार्टको तयारी पूरा भएको मार्ट संयोजक शेखर ढकालले जानकारी दिए ।
कार्यक्रमका लागि हालसम्म ४८ वटा स्टल बुकिङ भइसकेको नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स संघ (नाट्टा) कोशी प्रदेशका महासचिव नविन खरेलले बताए । एकदिने सो कार्यक्रममा ५१ वटा स्टल रहने छन् ।
खरेलका अनुसार स्टल बुकिङ गर्नेमा २३ वटा अस्पताल, तीनवटा ल्याब, दुईवटा कलेज, ११ वटा होटल, पाँचवटा होमस्टे, दुईवटा पार्क, एउटा धार्मिक संस्था र एअरलाइन्स छन् । कार्यक्रम आयोजना गर्न ८ लाख रुपैयाँको बजेट अनुमान गरिएको छ ।
कार्यक्रम अवलोकन गर्न आउने अवलोकनकर्तालाई महोत्सवबाटै प्राथमिक उपचार, परमर्श र औषधिसमेत निःशुल्क वितरण गरिनेछ । मार्टमा रक्तदान कार्यक्रमसमेत राखिएको छ ।
कार्यक्रममा कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरुको फोटो प्रदर्शनी हुनेछ । त्यस्तै, सीमापार स्वास्थ्य पर्यटन र झापाको स्वास्थ्य पर्यटनका विषयमा प्यानल डिस्कसन हुनेछ ।
कोशी पर्यटन वर्ष मनाइरहेको बेला झापाका प्रमुख अस्पताल, क्लिनिक, आयुर्वेद तथा प्राकृतिक उपचार केन्द्र, पर्यटन व्यवसायी, ट्राभल एजेन्सी, होटल व्यवसायीहरुको सहभागितामा मार्ट हुन लागेको नाट्टाका वरिष्ठ उपाध्यक्षसमेत रहेका कार्यक्रम संयोजक ढकालले बताए ।
कार्यक्रमले स्वास्थ्यसेवा प्रदायक, बिरामी र पर्यटन उद्योग लगायत विभिन्न सरोकारवालालाई फाइदा पुग्ने अपेक्षा गरिएको छ । बिर्तामोडको साई पार्टी प्यालेस सिटीसेन्टरमा हुने कार्यक्रमले व्यापारका अवसरहरु विकास गर्ने र साझेदारी गठन गर्ने प्लेटफर्मका रुपमा काम गर्न सक्ने जनाइएको छ ।
हेल्थ टुरिजम मार्टमार्फत नेपालीका साथै छिमेकी राष्ट्र भारत, बंगलादेश र भुटानका नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा तथा उपचारको जानकारी र सहज पहुँचका बारेमा मार्टमा छलफल हुने ढकालले बताए ।
स्वास्थ्य सेवा र पर्यटन व्यवसायबीच सहकार्यको वातावरण सिर्जना, अस्पताल, क्लिनिक, आयुर्वेद केन्द्र, ट्राभल एजेन्सी र होटल व्यवसायीहरूबीच नेटवर्क निर्माण, नेपालका गुणस्तरीय स्वास्थ्य सेवाको प्रवद्र्धन गर्ने मार्टले उद्देश्य लिएको छ ।
त्यस्तै, भारत, बंगलादेश, भुटानका नागरिकहरूलाई नेपालमा उपचारका लागि आकर्षित गर्न, पूर्वी नेपाललाई हेल्थ टुरिजम हबको रुपमा परिचय गराउन, बिर्तामोड लगायत झापा, मोरङ, सुनसरी क्षेत्रका स्वास्थ्य पूर्वाधारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने मार्टको उद्देश्य रहेको छ ।
त्यस्तै, स्वास्थ्य पर्यटनसम्बन्धी नीति निर्माण र सहकार्यका लागि आधार तयार गर्न, स्थानीय सरकार, निजी क्षेत्र र सरोकारवालाबीच सहकार्यको सम्भावना प्रस्तुत गर्न, सामुदायिक स्वास्थ्य सचेतना र प्रविधिमैत्री उपचार प्रवद्र्धन गर्न मार्टले भूमिका खेल्ने संयोजक ढकालले बताए ।
मार्टमार्फत स्वास्थ्य र पर्यटनको एकीकरण, दिगो विकासको सम्भावना, सीमापार स्वास्थ्य पर्यटनको सम्भावना, स्थानीय अर्थतन्त्रमा योगदान, होटल, यातायात, रेस्टुरेन्ट, उपचार केन्द्रलगायतका क्षेत्रहरूमा रोजगारी र आय आर्जनमा वृद्धि हुने जनाइएको छ ।
मार्टमा सञ्चारकर्मी, हेल्थ टुरिजम विज्ञ तथा योजनाकार, बिर्तामोड नगर प्रतिनिधि, हेल्थ तथा टुरिजम क्षेत्रमा संलग्न व्यवसायी लगायतको सहभागिता रहनेछ ।
नेपाल पर्यटन बोर्डको आयोजना तथा पर्यटन कार्यालय काँकरभिट्टाको सहआयोजनामा हुने कार्यक्रम बिर्तामोड नगरपालिका, नाट्टा कोशी प्रदेश, होटल व्यवसायी संघ झापा र पर्यटन पत्रकार मञ्च झापाको सहकार्यमा हुँदैछ ।