बिर्तामाेड । झापाको भद्रपुर-९ मा रहेको ग्यालेक्सी इङलिस स्कुलले यो शैक्षिकसत्रदेखि कक्षा ११ को कक्षा सञ्चालन गर्ने भएको छ । २०८१ को एसइइमा नगरकै उत्कृष्ट भएको ग्यालेक्सीले आज पत्रकार सम्मेलन गरेर सोबारे जानकारी दिएको हो ।
विद्यालयका सञ्चालक तथा भाइस प्रिन्सिपल विवेक चम्लागाईंका अनुसार कक्षा ११ मा कम्प्युटर साइन्स तथा बिजनेस स्टडिज विषयमा कक्षाहरु सञ्चालन गरिनेछ । ९२ प्रतिशत रिजल्ट ल्याएको ग्यालेक्सीमा यी दुई विषयमा पढाइ हुनेछ ।
यसैबीच, एक कार्यक्रमको आयोजना गरेर विद्यालयले एसइइमा ग्रेडेड विद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यालयको हलमा आयोजित कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समिति र प्रशासनले उनीहरुलाई सम्मान गरेको हो । ग्यालेक्सीबाट २३ जनामध्ये २१ जना विद्यार्थी ग्रेडेड भएका छन् ।
व्यवस्थापन समितिका अध्यक्ष विमल अग्रवालको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा सञ्चालकहरु सुनिल घिमिरे, देव गोयल, रोनक वंशललगायतले विद्यार्थीलाई सम्मान गरेका थिए । विद्यालयका शिक्षक देवीप्रसाद सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयका भाइस प्रिन्सिपल विवेक चम्लागाईंले गरेका थिए ।
२०७४ सालदेखि नयाँ व्यवस्थापनले सञ्चालन गर्दै आएको ग्यालेक्सी भद्रपुर नगरको उत्कृष्ट र सफल विद्यालय हो । पढाइसँगै अतिरिक्त क्रियाकलापमा अब्बल रहँदै आएको ग्यालेक्सीले यही शैक्षिकसत्रदेखि कक्षा ११ को अध्ययन सुरु गर्न लागेको हो ।
साढे छ बिघा क्षेत्रफलमा रहेको विद्यालयमा विद्यार्थीको सुविधाका लागि प्रत्येक कक्षाकोठामा एसी जडान गरिएको छ ।प्रिपाइमेरीका लागि छुट्टै खेल्ने ठाउँको व्यवस्था गरिएको छ ।