बिर्तामोड । अन्तरास्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुङगानाले गैरआवासीय नेपालीलाई लगानीमा आकर्षित गर्ने कानुन निर्माण नभएसम्म नेपालमा विदेशी लगानी भित्र्याउन कठिन हुने बताएका छन् ।
नेपालमा बिदेशी लगानी भित्रयाउने नारा मात्र सुनिन्छ, अध्यक्ष ढुङगानाले भने, त्यसका लागि उपयुक्त वातावरण बन्न सकेको छैन ।' ढुङगानाले जिवा लामिछाने गैरआवासीय नेपाली संघको अध्यक्ष भएको समयमा एउटा कम्पनीमा लगानी गरेको सम्झिदै, अहिले त्यो लगानीको एकसय रुपैयाँको शेयर बढेर २४ सय भएपनि प्रतिफल प्राप्त गर्न सकस परेको बताए । उनले बिदेशी लगानी भित्र्याउन केही कानुन संशोधन गर्न सुझाव दिएका छन् ।
समाजको बिर्तामोडमा आयोजित पाँचौ अधिवेसनमा ढुङगानाले यस्तो बताएका हुन् । विश्वका ४० देशमा समाजको समिति रहेको छ ।
अध्यक्षमा कतारका व्यवसायी चम्लागाईँ

समाजको पाँचौ अधिवेशनले कतारका व्यवसायी महेन्द्र चम्लागाईँलाई अध्यक्ष चयन गरेको छ । उनी सन् २०२५–२०२७ का लागि अध्यक्ष चुनिएका हुन् । विगत ३० वर्षदेखि कतारमा व्यवसाय गर्दै आएका झापाको बाह्रदशीका चम्लागाईं यसअघि समाजका वरिष्ठ उपाध्यक्ष रहेका थिए । उनी ताप्लेजुङको फूलबारीदेखि झापा हुँदै श्रमिकका रूपमा कतार पुगेका हुन् ।
त्यस्तै, बरिष्ठ उपाध्यक्षमा दिपक चुडाल, उपाध्यक्षमा नविन पोखरेल, चूडामणि कार्की महिला उपाध्यक्षमा सीता पाण्डे, महासचिवमा चिरण खवास, सचिवमा भवानी प्रसाद कोइराला, अजय राजबंशी, कोषाध्यक्ष उमेश पोखरेल, सह–कोषाध्यक्षमा रविन गिरी चयन भएका छन् ।
समाजको क्षेत्रीय संयोजक अन्तर्गत मध्यपूर्वमा केशव कार्की (कतार), युरोपमा लोकेन्द्र नेपाल (बेल्जियम), ओसियानियामा निरञ्जन प्रसाई (अष्ट्रेलिया), अमेरिकामा आशिष संग्रौला (संयुक्त राज्य अमेरिका) रहेका छन् ।
यसैगरी उप–क्षेत्रीय संयोजक अन्तर्गत मध्यपूर्वमा टिका ढकाल (ओमान), युरोपमा प्रकाश गिरी (नेदरल्याण्ड्स), अमेरिकामा डिल्ली थापा (संयुक्त राज्य अमेरिका) चयन भएका छन् ।
निर्वाचन प्रमुख दिनेश पोखरेलले नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको घोषणा गर्दै सहमतिको वातावरणमा अधिवेसन सम्पन्न भएको बताए ।
कार्यक्रममा समाजले झापाको खेल क्षेत्र, विपद तथा विभिन्न सामाजिक कार्यमा पुर्याएको योगदानको चर्चा गरिएको थियो । समाजले कोभिड महामारीको समयमा झापाली अगुवाले सुरु गरेको 'एकका लागि एक अभियान', पिसिआर ल्याव स्थापनामा खेलेको भुमिका, विभिन्न स्थानीय तहलाई एम्बुलेन्स प्रदान तथा कमल गाउपालिकामा बस्ति निर्माण गरेर विपन्न परिवारलाई हस्तान्तरण गरिएको बताइएको थियो ।


















