झापा । ठूलो मात्रामा अवैध रकम र सुनसहित एकजना लागूऔषध कारोबारी झापाको काँकडभिट्टामा पक्राउ परेका छन् ।
आइतबार दिउँसो मेचीनगर -६ मेची पुलमा सशस्त्र प्रहरी बल,नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दोलखा गौरीशंकर गाउँपालिका –३ बस्ने नन्दबहादुर बस्नेतलाई ठूलो मात्रामा ब्राउनसुगर, अवैध रकम र सुनसहित पक्राउ गरेको हो ।
उनको साथबाट अबैध नेपाली रुपैयाँ १० लाख ५१ हजार १२० , ९० ग्राम ५४० मिलिग्राम सुन र प्लाष्टिकबाहेक ४० ग्राम १८० मिलिग्राम ब्राउनसुगर फेला परेको छ ।
थप अनुसन्धान तथा कारवाहीको लागि सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाले बरामदी सामान, नगद, लागूऔषधसहित बस्नेतलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाएको छ ।



















