झापा । झापाको शिवशताक्षी नगरपालिका–१० का ३३ वर्षीय सरोज शर्माको हत्या अभियोगमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले आईतबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिँदै पक्राउ परेका व्यक्तिहरूलाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये मृतककै छिमेकी २७ वर्षीय सुनिल साह र २३ वर्षीय राहुल साह रहेका छन् । उनीहरूलाई अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एंव प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

मृतक शर्मा २०८२ कात्तिक ९ गते दिउँसोदेखि सम्पर्कविहीन भएका थिए । उनको शव १५ गते राति झापा गाउँपालिका–५ स्थित हुलाकीमार्ग अन्तर्गतको बिरिङ खोलाको पुलमुनी गाडिएको अवस्थामा फेला परेको थियो । प्रारम्भिक अनुसन्धानअनुसार मृतक शर्माले सस्तोमा सुन किन्न सक्ने कुरा गर्दै सुनिल साहलाई सुन खोज्न आग्रह गरेका थिए । सोही बहानामा साहले शर्मासँग भएको पैसा लुट्ने तथा उनलाई अपहरण गरी भारततर्फ लैजाने योजना बनाएको खुलेको प्रहरीले जनाएको छ ।

साहले आफ्नै नाताका भान्जा राहुलसँग मिलेर कात्तिक ९ गते बेलुका अर्जुनधारा–४ दहिझोडा सामुदायिक वनमा शर्मालाई बोलाई टाउकोमा हथौडा प्रहार गरी हत्या गरेको अभियुक्तहरूले बयानमा बताएका छन् । सोही रात हाल फरार रहेका एक भारतीय सहयोगीसहित उनीहरूले शवलाई मृतककै गाडीमा राखी बिरिङ खोलाको पुलमुनी गाडेको बयानमा उल्लेख गरिएका प्रनाउ खड्काले बताए ।

कात्तिक १३ गते मृतकको गाडी निचाझोडा जंगलमा जलेको अवस्थामा फेला परेको र सो स्थान नजिकै अभियुक्त सुनिल साहको चप्पल भेटिएपछि अनुसन्धान तीव्र पारिएको थियो । कोशी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको संयुक्त टोलीले मोबाईलको प्राविधिक विश्लेषणमार्फत साहलाई मोरङको रानी सिमाक्षेत्रबाट र राहुललाई निजकै घरबाट नियन्त्रणमा लिएको हो ।

फरार रहेका भारतीय नागरिकको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।