काैशल भण्डारी

हामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको संघारमा छौं । आज रातीदेखि मौन अवधि(स्थिर समय) शुरु हुन लागेको छ । मंसिर ४ गते हामीले आगामी ५ बर्षका लागि राष्ट्रलाई सही हुने नीति निर्माण र त्यसकै जगमा विकास गर्नसक्ने अभिभावक छनौट गर्न लागिरहेका छौं । हामीले छनौट गर्ने वा गर्न लागेका प्रतिनिधीसँग हाम्रा अपेक्षा अलि बढी नै हुने गर्दछन् । राज्यको श्रोत, साधन सिमित भएका कारण जुन अपेक्षा पुरा हुन सक्ने अवस्था फेरी पनि हुँदैन । 

राजनीतिक दलका उम्मेदवार बिरुद्ध यतिबेला एउटा भ्रम जवरजस्त स्थापित गर्न खोजिदैछ । उनीहरु गलत हुन भन्ने नजिर मतदाताका मनमा पारेर स्वार्थ पुरा गर्ने समुह समाजमा सक्रिय नै छ । उनीहरुको लहै लहैमा हामी पनि लागेकै होलाउँ । केही क्षण उनीहरुलाई बिश्वास पनि गरेकै होलाउँ । तर, प्रतिनिधिसभा निर्वाचन र निर्वाचित जनप्रतिनिधीहरुको बारेमा नेपालमा प्रचलित कानुन अध्ययन गर्ने हो भने हामी उनीहरुको भ्रमबाट मुक्त हुन सक्छौं । 

‘स्वतन्त्र’ को आवरणमा थुप्रै ब्यक्ति अहिले उम्मेदवार बनेका छन् । हरेक नेपाली नागरिकको त्यो अधिकार पनि हो । तर, मुलुकमा कायापलट नै गर्छु भन्ने जुन उनीहरुको उद्घोष छ । त्यो चाहि ब्यालेट बक्स बन्द(मंसिर ४ गते बेलुका ५ बजे) सम्मका लागि मात्र हो भन्ने तथ्य बिस्तारै खुल्दै जानेछ । 

बहुदलीय प्रतिष्पर्धात्मक शासन ब्यवस्था रहेको यस मुलुकमा १३८ सदस्य जुन दल वा समुहले पुर्याउछ, सरकार उसैले बनाउने हो । यहाँ एकजनाले जित्दा वा हार्दा खासै फरक पर्दैन । तर, १३८ को लागि एक मत पुगेन भने ‘स्वतन्त्र’ ले आफैलाई बिक्री गर्छन । त्यतिबेला उनीहरुलाई हाम्रो मतको कुनै मुल्य हुदैन । पार्टीको ह्विप पनि उनीहरुलाई लाग्दैन । हामी ‘टेक्ने न समाउने’ को अवस्थामा हुन्छौं । 

हामीले स्वतन्त्रलाई जिताउने नाममा हरेक निर्वाचनमा सबै ब्यक्ति परीक्षण गर्दै जाने हो ? यसो गर्न सकिन्छ ? प्रत्येक क्षेत्रमा १ लाखका हाराहारीमा जनता बसोबास गछौं । १ लाख वटा निर्वाचनमा सबै ब्यक्तिलाई परीक्षण गर्ने ? यो कुन अवस्थामा कल्पना गर्न सकिन्छ ? यस्ता फाल्टु कुरा सोच्ने समय यो होइन । यो बेला त, जुन पार्टीको सरकार बन्ने सम्भावना रहन्छ, मत उसैलाई दिनु अति सान्दर्भिक हुन्छ । 

स्वतन्त्रबाट निर्वाचन जितेका ब्यक्तिले राज्यको कुनै निकायमा प्रभाव राख्न सक्दैनन । नियमित बाहेक अरु बजेट ल्याएर ठुला योजनाहरु शुरु गर्न सक्ने उनीहरुमा ताकत हुँदैन । त्यसकारण पनि स्वतन्त्र उम्मेदवारलाई निर्वाचन जिताएर ५ बर्षका लागि क्षेत्रको बिकास रोक्नु भनेको आगामी पुस्तामाथिको अन्याय हो । एउटा सचेत मतदाताले दलको बिकल्प दल नै रोज्नुपर्ने हुन्छ । दलको बिकल्प ब्यक्ति त झन हुँदै हुदैन । 

स्थानीय तहको निर्वाचनमा केही स्वतन्त्र ब्यक्तिले जितेर केही नयाँ गरेकै हुन् । उनीहरुको उदाहरण दिदै एउटा सांसदबाट त्यो अपेक्षा गर्नु भनेको राजनीतिक मुर्खता मात्र हो । हामी राजनीतिक मुर्ख बन्ने हो कि, सचेत मतदाता बन्ने हो त्यो हाम्रै हातमा निर्भर छ । तसर्थ आफ्नो मतको सही सदुपयोग गरेर प्रतिनिधि छनौट गर्ने अवसरको भरपुर सदुपयोग गरौं ।