बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले संसद खोल्न नचाहेको आरोप लगाएका छन् । नेकपा एमाले सहितका प्रतिपक्षी दलले सुन काण्डमा उच्चस्तरीय छानविन समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गरिरहेका छन् । 

‘उच्चस्तरीय छानविन समिति निर्माण गर्ने बित्तिकै सरकार ढल्दैन, प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै लिङदेनले भने, एउटा सिआइबी वा प्रहरीले कुनै घटनामा नाम जोडिएका मन्त्री वा गृहमन्त्रीलाई बयान लिन सक्दैन । त्यसकारण उच्चस्तरीय छानविन समिति आवश्यक परेको हो ।’ जनतालाई बिश्वास दिलाउनका लागि पनि उच्चस्तरीय छानविन समिति जरुरी छ । 

सुन काण्ड, ललिता निवास प्रकरण र नक्कली भुटानी शरणार्थी काण्डमा सरकारले गरेको छानविन पुर्ण नभएको नेता लिङदेनले आरोप लगाए । त्यसैले सुन काण्डका लागि उच्चस्तरीय छानविन समिति गठन गर्नु पर्ने उनको भनाई थियो ।