विर्तामोड । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाललाई आर्थिक रुपमा समृद्ध बनाउन २० बर्षे योजना तयार गर्नुपर्ने बताएका छन् । 

gagan

नेपाल विद्यार्थी संघ झापा अन्तर्गत कनकाई र इन्द्रचन्द्र क्याम्पस इकाइ समितिको आयोजनामा आज विर्तामोडमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले यस्तो धारणा राखेका हुन् ।
‘यहाँको पपुलेशन हेर्दा अबको २० बर्षमा नेपाल बुढो हुन्छ’–प्रतिनिधिसभाको सांसद समेत रहनुभएका थापाले भने–‘२० बर्ष अघि नै नेपाललाई आर्थिक रुपमा समृद्ध बनाउन सकेमात्रै यसको विकास सम्भव छ, बुढो भएपछि विकास सम्भव हुँदैन ।’ उनले जापान र कोरियाको उदाहरण प्रस्तुत गर्दै ती देशले जवान छँदै आर्थिक समृद्धि प्राप्त गरेका कारण मात्रै अहिले विदेशबाट कामदार लगेर रोजगारी दिन सम्भव भएको बताए ।
‘हामीलाई नेपालको विकासका लागि योजना दिने राजनीतिज्ञ चाहिएको छ’–नेता थापाले भने–‘हामीलाई गनगन गर्ने र समस्या मात्रै ओकल्ने मान्छे चाहिएको छैन । समस्या त जसले पनि भन्छ ।’ युवा पुस्ताबाट देशलाई समृद्ध बनाउने योजना आउने उनकाे विश्वास थियो ।
आफूले थाहै नपाई नेविसंघको झण्डा बोकेको बताउँदै नेता थापाले भने–‘नेविसंघ एउटा स्कुल हो, यहाँ थुप्रै कन्टेन्टहरु छन् । लर्निङ एण्ड डुइङको अवसर छ । यहाँ प्रवेश गरेको मान्छेले कहिल्यै पछुताउनुपर्दैन ।’
‘पहिलोपटक जेल पर्दा स्वतन्त्रता के हो ? भन्ने कुरा सिकें’ –नेता थापाले भने–‘दिनभरमा एकपटक मात्रै शौचालय जान र खाना खान दिइन्थ्यो, त्यसबेला मात्रै मैले स्वतन्त्रताको अर्थ बुझें, त्यसबेला स्वतन्त्रताको महत्व थियो ।’ अब प्राप्त गरिसकेको वस्तुको खासै अर्थ नहुने र स्वतन्त्रताका लागि लडाईं लड्नुनपर्ने बताउँदै नेता थापाले अब पपुलिजमका विरुद्ध लडाई लड्नुपर्ने अवस्था आएको बताए ।