बिर्तामाेड । काेशी प्रदेशका मुख्यमन्त्री उद्वब थापाले आजका लागि बिश्वासकाे मत लिने सम्भावना सकिएकाे बताएका छन् । 

विराटनगरकाे होटल स्टर्नस्टारमा आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् । ‘आफैँले बोलाएको बैठक र उपसभामुखले दिएको समय आज थियो । उहाँ नै अनुपस्थित हुनुभयो । उहाँले आज बिहान ९ बजेतिर उपस्थित हुन नसक्ने जानकारी दिनुभयो,’ थापाले भने, ‘उहाँले बोलाएको बैठकमा उहाँ नहुँदा के गर्ने भन्ने निर्णय भने कार्य व्यवस्था परामर्श समितिले निर्णय गर्छ । आजै विश्वासको मत लिने सम्भावना देखिएन । सल्लाह गरेर अर्को दिनलाई निश्चित गरेर हामी अगाडि बढ्छौँ ।’

यद्यपि कार्य व्यवस्था परामर्श समितिको बैठक राखेर त्यसबारे औपचारिक निर्णय गर्ने उनले बताए । ‘कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर के गर्ने भन्ने निर्णय हुन्छ,’ उनले भने । 

थापाले बजेट प्रतिस्थापन गरेर अगाडि बढ्ने पनि बताए । बजेट प्रतिस्थापन गर्नका लागि आगामी भदौ १० गतेसम्म समयावधि रहेको छ । उनले विश्वासको मत लिने विभिन्न तरिका र उपायहरु रहेको बताउँदै आफूले निर्धारित समयमै विश्वासको मत पाउने पनि दाबी गरे । ‘विश्वासको मत लिने सम्बन्धमा हामीलाई ३० दिनको समय दिएको छ । त्यो अवधिभित्र विश्वासको मत लिन्छौँ,’ थापाले भने ।