बिर्तामाेड । पार्टीलाई जनतासँग जाेड्ने  अभियानका बीच नेकपा माओवादी केन्द्र  बिर्तामाेडमा पार्टी परित्याग गर्ने लहर चलेकाे छ । 

‘जनतासँग माओवादी बिशेष रुपान्तरण’ अभियान उद्घाटनकै दिन झापाको बिर्तामोडबाट ७१ जना नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । ‘जन जनमा माओवादी, घरघरमा माओवादी’ नारा दिइएकाे कार्यक्रमबाट नै पार्टी  रित्तिने गरी राजीनामा आउन सुरु भएकाे हाे । 

लामो समयदेखि कम्युनिष्ट भएर माओवादी पार्टीमा सलग्न रहँदै आएका उनीहरुले सामुहिक रुपमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
समाजबादी बाटोमा अघि बढ्ने संकल्प गर्दै शनिवारबाट उनीहरुले पार्टी परित्याग गरेका छन् । पार्टी परित्याग गर्नेमा जिल्ला कमिटी सदस्य प्रकाश भारती, बिर्तामोड–४ का पार्टीका वडाध्यक्ष गोपी अधिकारी, वडा सचिव शंकर गौतम, नगर सदस्य नन्दीकेशर पोखरेल, झलक राजवंशी, वडा नम्बर १ उपाध्यक्ष कुमार काफ्लेलगायत पार्टीको बिभिन्न तह र तप्काका जिम्मेवारीमा रहेका ७१ जना नेता तथा कार्यकर्ता रहेका छन् ।
उनीहरुले जारी गरेको पार्टी परित्याग घोषणापत्रमा भनिएको छ -‘आजदेखि नेकपा माओवादी केन्द्र परित्याग गरेको घोषणा गर्दछौं ।’
उनीहरुले परित्याग गरेको पत्रमा नाम, पार्टीको जिम्मेवारी र हस्ताक्षरसमेत रहेको छ । झापामा माओवादी परित्याग गर्नेकाे लहर नै चल्न लागेकाे भर्खरै पार्टी छाेडेका एकजना कार्यकर्ताले बताए ।