विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कार्कीको सपथको तयारी भइरहेको छ ।
सर्वोच्च अदातलले कोशी प्रदेश सभाको सबैभन्दा ठुलो दलका नेता हिक्मत कार्कीलाई ४८ घण्टा भित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारीपछि प्रदेश प्रमुखको कार्यालयले सपथको तयारी सुरु गरेको छ ।
सर्बोच्च अदालतको पत्र भर्खरैमात्र विराटनगर आइपुगेकाले तयारी थालिएको प्रदेश प्रमुखको कार्यालय स्रोतले बतायो ।
सर्वोच्च अदालतले बिहिबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक ठहर गर्दै पदमुक्त गरी प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको थियो ।
न्यायाधीशहरू सपना प्रधान मल्ल, डा.कुमार चुँडाल र नहकुल सुवेदीको पुर्ण इजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम कार्कीलाई ४८ घण्टा भित्र कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।

मुख्यमन्त्रीसँगै आज २ जना मन्त्रीलाई पनि शपथग्रहण  गराउने एमालेकाे तयारी  छ ।  एमाले श्रोतका अनुसार तिलकुमार मेन्याङ्वो र एकराज कार्कीलाई मन्त्री बनाउने तयारी छ । मेन्याङ्वाेले कार्की नेतृत्वको सरकारमा यसअघि नै पनि मन्त्री भएर काम गरेका थिए ।

गत पुसमा नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले पछि विश्वासको मत पाउन सकेका थिएनन् । त्यसपछि नेपाली कांग्रेसका उद्धव थापा मुख्यमन्त्री भए पनि उनको नियुक्ति सर्वोच्च अदालतले दुई पटक बदर गरेको छ ।