बिर्तामोड । पुर्वराजा ज्ञानेन्द्र शाहले शनिबार झापामा एक निजी बिद्यालयले निर्माण गरेको पृथ्वीनारायण शाहको फाइबरको सालिक अनावरण गरेका छन् । 

received_659762536321268

बिर्तामोड–१ मा सञ्चालित ईकम कलेजले निर्माण गरेको फाइबरको सालिक शाहले अनावरण गरेका हुन् । सो अवसरमा शाहले ८ बर्षदेखि सञ्चालित कलेजकोसमेत उद्घाटन गरेका छन् । ईकम कलेजले होटल म्यानेजमेन्ट, बिज्ञान र व्यवस्थापन संकायमा अध्यापन गराउँदै आएको छ । 

सालिक अनावरणका लागि शाह शुक्रबार नै मेचीनगरमा रहेको होटल मेची क्राउनमा आएका थिए । मेची क्राउनबाट शनिबार आएर शाह कार्यक्रममा सहभागि भएका हुन् । 

received_348909821019462

मेची क्राउन होटलबाटै राप्रपाले शाहको यात्रामा स्कर्टिङ गरेको थियो । हजारौं मोटरसाइकलमा आएका राजावादी दलका कार्यकर्ताले स्कर्टिङ गरेर शाहलाई कार्यक्रम स्थलमा ल्याएका थिए । राप्रपाले शाहको उपस्थितिलाई शक्ति प्रदर्शनको रुपमा उपयोग गरेको थियो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन पनि शाहसँगै कार्यक्रममा सहभागी भएका थिए । उनी आफै १५ दिनदेखि झापामा बसेर कार्यक्रमको तयारी गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । 

कलेज उद्घाटन, पृथ्वीनारायण शाहको सालिक अनावरणपछि शाहले कलेजले आयोजना गरेको सांस्कृतिक कार्यक्रम अवलोकन गरेका थिए । कार्यक्रममा आयोजकले नेपाली राष्ट्रगान भन्दै स्वदेश गित बजाएको थियो । ‘रातो र चन्द्र सुर्य’ बोलको स्वदेश गान कलेजका छात्रा प्रेरणा ओलीले गाएकी थिइन् । 

पछिल्लो समय राजावादी अभियान चलाइरहेका दुर्गा प्रसाईँले मधेस प्रदेशमा आयोजित एक कार्यक्रममा पुरानो राष्ट्रगान बजाएपछि बिवाद उत्पन्न भएको थियो । आयोजकले सो बिवाद यहाँ दोहोरिने सम्भावनालाई टार्दै स्वदेश गितलाई राष्ट्रगानको रुपमा प्रस्तुत गरेको थियो । 

कलेजका शिक्षकसमेत रहेका कार्यक्रमका उद्घोषक बालकृष्ण दाहालले सम्बोधनभरी राजषी भाषा र शैली प्रयोग गरेका थिए । पुर्वराजा ज्ञानेन्द्र शाहलाई दाहालसहितका वक्ताहरुले पटक–पटक ‘श्री ५ को सरकार, महाराजधिराज’ लगायतका बिशेषण प्रयोग गरेका थिए । कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक आलोक कार्की तथा सञ्चालक निर्मल निरौलाले बोलेका थिए । 

शाहलाई हेर्न प्रदेशभरबाट हजारौं सर्वसाधारणको भिड लागेको थियो । भिडका कारण कार्यक्रम स्थलसम्म शाहलाई लैजाने क्रममा सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको थियो । प्रशासनले शाहको कार्यक्रमलाई साधारण सुरक्षा प्रदान गरेको थियो । नेपाल प्रहरीका डिएसपी र शसस्त्र प्रहरीका इन्स्पेक्टरले सुरक्षा समालेका थिए । 

सहभागीलाई कार्यक्रमस्थल बाहिरै राखिएको थियो । कलेजको कम्पाउण्डभित्र जान नपाएपछि सहभागीहरुले चर्काे असन्तुष्टी जनाएका थिए । टाढाबाट आएका उनीहरुले शाहलाई भेट्न नपाएपछि आयोजकको आलोचना गर्दै फर्किएका थिए । 

कार्यक्रममा शाह, राप्रपाका अध्यक्ष लिङदेन लगायत राजावादी दलका नेता कार्यकर्ता सहभागी भएपनि सम्बोधन भने गरेनन् । 

लिङदेनको व्यवस्थापनमा झापा आएका शाहले राजावादी अभियानका नयाँ अभियन्ता प्रसाईँलाई भने बेवास्ता गरेका छन् । प्रसाईँले तीनदिनदेखि लगातार काठमाण्डौमा ‘राजा ल्याउने’ भन्दै आन्दोलन गरिरहेका छन् । उनको आन्दोलनलाई पुर्वराजाको समर्थन रहने कतिपय राजनीतिक बिश्लेषणको अनुमान बिपरीत शाह भने लिङदेनको गृहजिल्ला झापा आएका हुन् ।