बिर्तामोड । पुर्वराजा ज्ञानेन्द्र शाहलाई ल्याएर तामझामका साथ कलेज उद्घाटन् तथा पृथ्वीनारायण शाहको सालिक अनावरण गरेको बिर्तामोडको इकम कलेजका सञ्चालक यतिबेला तनाबमा छन् । 

गणतान्त्रिक मुलुकमा राजतन्त्रको झल्को दिनेगरी कार्यक्रम आयोजना भएपछि उनीहरुको चर्काे बिराेध भएको छ । कलेजले अहिलेको व्यवस्थालाई नै चुनौती दिएको भन्दै सर्वत्र बिरोध भएपछि कलेज सञ्चालकलाई तनाब भएको हो । उनीहरुले कार्यक्रम गर्दा गल्ती भएको भन्दै त्यो गल्ती सच्याउन शुरु गरेको बताएका छन् । 

बिरोधका कारण कलेज सञ्चालकले शाहले उद्घाटन गरेको स्तम्भ भत्काएका छन् । उनीहरुले स्तम्भमा पुर्वराजा शाहलाई ‘श्री ५ महाराजधिराज’ जस्ता बिषेशणले सम्बोधन गरेका थिए । स्तम्भसँगै कलेज परिसरमा निर्माण गरिएको पृथ्वीनारायण शाहको पुर्णकदको फाइबरको सालिकसमेत शाहले अनावरण गरेका थिए । 

कार्यक्रम सञ्चालक बालकृष्ण दाहालले झन राजतन्त्रको झल्को दिनेगरी ‘मौसुफ सरकार, बाहुलीबाट’ लगायतका शाहीकालिन आदरार्थी शब्दबाट सम्बोधन गरेका थिए । कलेजका प्रबन्ध निर्देशक आलोक कार्की, निर्देशक निर्मल निरौला लगायतका ‘मौसुफका जुनाफमा’ लगायतका शब्दबाट शाहलाई सम्बोधन गरेका थिए । 

कार्यक्रममा नेपालको राष्ट्रगानसमेत बजाइएको थिएन । स्वदेश गितलाई राष्ट्रगान भन्दै आयोजकले सोही कलेजको छात्रालाई गाउन लगाएका थिए । नेपाली राष्ट्रगान नबजाएको बिषयलाई पनि आलोचकले स्थान दिएको सञ्चालकले बताएका छन् । 

बिर्तामोड नगरपालिका–१ का वडाध्यक्ष अग्नि पाण्डेले नेपालको संविधानलाई चुनौती दिंदै कार्यक्रम आयोजना गर्ने कलेजको दर्ता खारेज गरी कारवाही गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिपछि कलेज प्रशासनले शाहले उद्घाटन गरेको स्तम्भ भत्काएको हाे । 

कलेजका निर्देशक निर्मल निरौलाले स्तम्भमा पुर्वराजा लेख्न जिम्मा दिइएको जानकारी दिएका छन् । ‘हामीलाई त्यसरी कार्यक्रम गर्दा नेपालको संविधानबिपरीत हुन्छ भन्ने जानकारी थिएन, शाहको संवाद सचिवालयबाट प्राप्त भएको फर्म्याट अनुसार कार्यक्रम र त्यहाँ लेख्ने शब्द चयन गरिएको हो, निरौलाले भने–‘नेपालको संविधानबिपरीतको काम गरियो भन्ने थाहा पाएपछि हामीले त्यो स्तम्भ भत्काएर नयाँ बनाउने निर्णय गरेका हौं ।’

कलेज सञ्चालकहरु कुनै राजनीतिक दलमा आवद्ध नभएको उनले प्रष्ट पारे । उनले बर्तमान संविधानको पालनामा आफुहरु प्रतिबद्ध रहेको बताए । कलेजले संविधानको बिरुद्ध कुनैपनि गतिविधि नगर्नेसमेत निरौलाले बताए । 

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, प्रहरीका डिएसपी लगायतसँग समन्वय गरेर स्तम्भ भत्काइएको हो । आगामी दिनमा कार्यक्रम आयोजना गर्दा यसप्रकारको गल्ती नगर्ने प्रतिबद्धताका साथ स्तम्भ फेरिएको कलेज प्रशासनले जनाएको छ ।