बिर्तामोड । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईको गाडी तोडफोड गरेको अभियोगमा पक्राउ परेका दुई कार्यकर्ता रिहाईका लागि दबाब दिन पहिचानवादीहरुले मेची राजमार्गमा चक्काजाम गरेका छन् ।

received_3610849635829317

पहिचानवादीहरुले झापाको चारआलीमा इलामतर्फ जाने सवारीसाधनमा अवरोध गरेका हुन् । केही पहिचानवादीहरुले इलामतर्फ जान लागेका सवारीसाधनलाई अवरोध गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

received_252625717530270

पहाडी क्षेत्रमा पनि पहिचानवादीहरुले आज यातायात अवरुद्ध पारेको जनाइएको छ । बन्दका कारण मेची राजमार्गको फिदिम ताप्लेजुङ–फिदिम र फिदिम–इलाम सडक खण्डमा बिहानैदेखि यातायातका साधन चलेका छैनन् । पहिचान पक्षधरहरूले ठाउँ–ठाउँमा उभिएर छिटफुट चलेका साधन पनि रोकिरहेका छन् ।

मंगलबार अपराह्न प्रहरीले स्कर्टिङ गरेर बुधबारेबाट सवारी साधन पहाडी क्षेत्रमा पठाएको छ । त्यसपछि अन्य सवारीसाधन भने चल्न सकेका छैनन् । 

आइतवार ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्कनजिकै पहिचान पक्षधरले भट्टराईको गाडीमाथि आक्रमण गरेका थिए । सात–आठ जनाको समूहमा रहेकाहरुले भट्टराई सवार गाडीमा ढुंगा र लाठीले हानेका थिए । त्यसक्रममा विपिन लिम्बू र आनन्द लिम्बु पक्राउ परेका थिए ।

पहिचानवादीहरुले उनीहरुको बिनाशर्त रिहाईको माग गरेका छन् । उनीहरुको रिहाई नभएसम्मका लागि मेची राजमार्ग बन्द गर्ने घोषणा उनीहरुको रहेको ‘पहिचानका लागि युवा’ झापाका सदस्य सचिव गौरिमान राईले जानकारी दिए । उनले वार्ताका लागि हालसम्म सरकारी पक्षले पहल नलिएकाे बताए ।