बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कुमार भट्टराई फेरी राप्रपा प्रवेश गरेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितिमा भट्टराई बुधबार राप्रपा प्रवेश गरेका हुन् । 
भट्टराई २०७४ सालको निर्वाचनताका राप्रपा परित्याग गर्दै नेपाली कांग्रेस प्रवेश गरेका थिए । उनी सो बर्ष भएको निर्वाचनमा कांग्रेस उम्मेदवार उद्धब थापाको चुनावी टिमको नेतृत्वकर्ता पनि भएका थिए । झापा क्षेत्र नम्बर २ मा भएको नेपाली कांग्रेसको चुनावी कार्यक्रममा भट्टराईले सक्रियतापुर्वक सहभागिता जनाएका थिए । 
२०७४ साउनमा बिर्तामोड उद्योग वाँणिज्य संघको अधिवेसन भएको थियो । सो अधिवेसनमा नेपाली कांग्रेसका तर्फबाट भट्टराई अध्यक्षको उम्मेदवार भए । नवप्रवेशी उनलाई नेपाली कांग्रेसले पार्टीका पुराना नेता कार्यकर्तालाई ब्याक गर्दै अध्यक्ष बनायो । अध्यक्षको कार्यकाल सहजतापुर्वक बिताएका भट्टराईलाई कांग्रेसले पार्टीको उद्योग वाँणिज्य बिभाग(प्रदेश) सदस्यमा मनोनयन गरेको थियो ।
बिर्तामोड उद्योग वाँणिज्य संघमा अहिलेपनि नेपाली कांग्रेस समर्थक उम्मेद्वारको दवदबा छ । नेपाली कांग्रेसइतरका उम्मेदवारले हालसम्म बिर्तामोड वाँणिज्य संघको नेतृत्व गर्ने अवसर पाएका छैनन् । भट्टराईले त्यही माहौल बुझेर कांग्रेस प्रवेश गरेको त्यतिबेलाको ज्योतिष अहिले मिलेको छ । 
२०७९ सालमा भएको निर्वाचनमा भट्टराईले कांग्रेसबाट बिद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिए । चापाकल चुनाव चिन्हबाट उम्मेदवार रहेका भट्टराईले २४४ मत पाए । उम्मेदवारी फिर्ता लिन पार्टीले गरेको अनुरोध अस्विकार गरेपछि भट्टराईलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गर्न जिल्ला कमिटीले सिफारिस ग¥यो । 
त्यसपछि भट्टराईको सार्वजनिक कार्यक्रममा उपस्थिति पातलिएको थियो । उनी न्युट्रल बसिरहनुभन्दा राप्रपा प्रवेश गरेर सक्रिय राजनीतिमा आउन खोजेका छन् । भट्टराईकै शब्दमा ‘मर्ता क्या नही कर्ता’ भन्ने सोचेर राप्रपा प्रवेश गरेको उनी बताउँछन् ।