बिर्तामोड । सर्वपक्षीय सहमतिपछि मेची राजमार्गमा विगत दुई दिनदेखि जारी बन्द फिर्ता भएको छ । 

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको पहलमा भएको छलफलमा सहमति भएसँगै बन्द फिर्ता भएको हो । 

एमाले सचिव तथा सांसद योगेश भट्टराई सवार सवारी साधनमा आक्रमण गरेको आरोपमा प्रहरीले पहिचानवादी समुहका कार्यकर्तालाई पक्राउ गरेको थियो । 

आफ्ना कार्यकर्ता निर्दोस रहेको भन्दै पहिचानवादी समुहले उनिहरुलाई विनासर्त रिहाईको माग गरेको थियो । प्रशासनले रिहाई गर्न आलटाल गरेको भन्दै पहिचानवादी समुहले अनिश्चितकालीन मेची राजमार्ग बन्द आह्वान गरेको थियो ।

बन्दका कारण विगत दुई दिनदेखि मेची राजमार्गमा यातायात सञ्चालन हुन सकेको थिएन ।

जिल्ला प्रशासन कार्यालय तापलेजुङको पहल र सांसद लीला बोखिमको उपस्थितिमा भएको सर्वपक्षीय छलफलले सहमति गरेको पहिचानका लागि युवा झापाका सचिव गौरिमान राईले जानकारी दिए । सहमति अनुसार पक्राउ परेका दुईजना कार्यकर्ता आजै रिहा भएका छन् ।