बिर्तामाेड । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई जिम्मेवारी दिएका छन् । मुख्यमन्त्री कार्कीले करिब एक महिनापछि विनाविभागीय रहेका तीन मन्त्रीहरुलाई आज मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

विनाविभागीय मन्त्री रहेका नेकपा माओवादी केन्द्रका गणेश उप्रेतीले पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाली काँग्रेसका शमशेर राईले आन्तरिक मामिला तथा कानून मन्त्रालय र नेकपा एकीकृत समाजवादीका कमल जवेगुले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

उप्रेती र जवेगु कात्तिक १७ गते मन्त्री नियुक्त भएका थिए भने राई मुख्यमन्त्रीको सपथसँगै असोज २८ गते नियुक्त भएका थिए । तीन मन्त्रीले जिम्मेवारी पाएपनि आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय र खानेपानी सिचाई तथा उर्जा मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री कार्कीसँगै छ ।

बाँकी मन्त्रालयको भागबण्डा र मन्त्रीहरुकाे नियुक्ति भने प्रदेशसभाको सभामुखको निर्वाचनपछि गर्ने सहमति दलहरुले गरेका छन् । सभामुखको निर्वाचन उपसभामुख अस्ट्रेलियाबाट आएपछि अगाडि बढाउनेगरि सरकारले सहजीकरण गर्ने भएको छ । प्रदेशसभाको बैठक मंसिर १९ गतेलाई तोकिएकोले त्यससँगै सभामुख निर्वाचनको प्रक्रिया अगाडि बढाउनेबारे छलफल भइरहेको जनाइएको छ ।