बिर्तामोड । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीले भर्खरै सम्पन्न गरेको झुलाघाट–चिवाभन्ज्याङ संकल्प यात्रा अपेक्षाकृत सफल भएको दावी गरेका छन् । 

झापाको बिर्तामोडमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले संकल्प यात्रा कसैको बिरुद्धमा नभएको उल्लेख गरेका छन् ।  उनले संकल्प यात्रा, जनजागरणको यात्रा भएको बताउँदै बर्तमान सरकारका गलत कार्यको खबरदारीसमेत भएको बताएका छन् । 

निर्वाचनमा मात्र दलहरु जनताको घर दैलोमा आउँछन् भन्ने जनताको गुनासो सम्बोधन यात्राले गरेको टिप्पणी पोखरेलको थियो । उनले पार्टीलाई जनतासँग जोड्न यो यात्रा सफल रहेको दावी गरेका छन् । 

बैतडीको झुलाघाटबाट सुरु भएको यो यात्रा १८ दिनपछि पाँचथरको चिवाभन्ज्याङमा समापन भएको थियो । यात्राका क्रममा जनताका बिभिन्न गुनासोहरु सुन्ने अवसर प्राप्त भएको पोखरेलले बताए । राजनीतिक हिसाबले जनतामा निरासा पैदा भइरहेको अवस्थामा उत्साह जगाउनसमेत यात्रा प्रभावकारी रहेको जनसहभागिताले पुष्टि गरेको उनले बताए । 

उनले मध्य पहाडी क्षेत्रका जनताको अवस्था, जनजिविकाको सवाल, बसाँई सराई लगायत सम्भाब्यता अध्ययनका निम्ति ठुलो सफलता पाएको बताए । चाँडै काठमाण्डौमा समग्र अभियानको प्रतिवेदन सार्वजनिक गरिने उल्लेख गर्दै पोखरेलले यात्रा अवधिभर साथ र सहयोग प्रदान गर्ने सबैलाई धन्यवाद दिएका छन् ।