झापा । धाेती दिवस मनाउन निषेधित क्षेत्रमा भेला भएपछि प्रहरीले माइतीघर मण्डलाबाट सामान्य प्रशासन मन्त्री अनिता देवीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले मन्त्रीसँगै जनमत पार्टीका अध्यक्ष सिके राउत र अरु नेताहरुलाई पनि पक्राउ गरेको छ । 

प्रहरीले उनलाई नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा राखेको छ । माइतीघरदेखि नयाँ बानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । त्यहाँ भेला भएकाे भन्दै प्रहरीले जनमत पार्टीका नेताहरुलाई पक्राउ गरेको हो ।

साँझसम्ममा उनीहरुलाई छाडिने प्रहरीले जनाएको छ । जनमत पार्टीकी उनी २९ साउनमा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी थिइन् ।

प्रहरीले प्रदर्शनमा सहभागि पूर्व खानेपानी मन्त्री अब्दुल खानलाई समेत नियन्त्रणमा लिएको छ । पार्टीका विभिन्न तहका नेताहरुसहित गरेर जम्मा ५३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए ।