बिर्तामाेड । नेकपा एमालेकाे बिर्तामाेड नगर कमिटीकाे दाेस्राे नगर अधिवेसनकाे तयारी तिब्र पारिएकाे छ । जेठ १३ गते हुने नगर अधिवेशनमा तयारीसँगै नेतृत्वका लागि दाैडधुप सुरु भएकाे छ ।
अधिवेसनमा बर्तमान नगर अध्यक्ष सुवास भट्टराई र सचिव शेखर कडेलले अध्यक्षका आकांक्षा राखेका छन् । आज हुँदै गरेकाे प्रतिनिधि छनाैटमा आफ्ना पक्षका नेता कार्यकर्तालाई जिताउन दुबै कस्सिएर लागेका छन् । अधिवेशनका लागि ४९९ जना प्रतिनिधि छनौट हुने छन् । यो अधिवेशन पार्टीको दोस्रो अधिवेशन हो ।
पार्टीको जिल्ला तथा नगरस्तरीय नेता एवं विभिन्न जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिहरु उपस्थित सम्मेलनमा अध्यक्ष सुवास भट्टराईले भने, ‘अधिवेशनको तयारी तीव्ररुपमा भइरहेको छ ।’ सो अधिवेशनको उद्घाटन पार्टीका महासचिव शंकर पोखरेलले गर्ने तयारी छ ।
प्रथम नगर अधिवेशनमा जीत हासिल गरी कार्यकाल पूरा गरेका भट्टराईले आफूले एकपटक दोहोर्याउने इच्छा राखेको बताए । ‘एकपटक दोहोर्याउने इच्छा राखेको छु’ उनले भने । त्यस्तै सचिव कँडेलले पनि अध्यक्षमा उठ्ने आकांक्षा व्यक्त गर्दै भोट माग्न थालिसकेकाे बताएका छन् । २०७८ कात्तिक १६ गते एमालेको प्रथम नगर अधिवेशन सम्पन्न भएको थियो । त्यस अधिवेशनमा भट्टराई अध्यक्षमा निर्वाचित भएका थिए ।
अधिवेसन तयारीबारे बाेल्दै अध्यक्ष भट्टराईले अहिलेकाे नेतृत्व सर्वाधिक सफल रहेकाे बताए । प्रतिनिधि सभामा देबराज घिमिरे, प्रदेश सभमा एकराज कार्की र बिर्तामाेड नगरपालिकामा मेयर, उपमेयर र बहुमत वडाध्यक्ष तथा सदस्यलाई जिताउन सफल भएकाे भन्दै भट्टराईले याे नेतृत्वलाई फेरि एकपटक अवसर दिनुपर्ने बताए ।
भट्टराईले याे दावी गरिरहँदा उनकाे बसाेवास रहेकाे वडा भने स्थानीय तहकाे दुइवटै निर्वाचनमा एमालेले गुमाएकाे छ । बिर्तामाेड नगरपालिका वडा न ६ मा बसाेबास गर्ने भट्टराईकाे वडामा एमालेले हालसम्म जित हासिल गर्न सकेकाे छैन ।
सचिव कँडेलकाे अवस्था पनि त्यस्तै छ । उनकाे बसाेबास भएकाे वडा न ८ मा दुईवटै निर्वाचनमा राप्रपाका उम्मेदवारले जित हासिल गरेका छन् । जनतासँग सधै र प्रत्यक्ष जाेडिने स्थानीय तहमा आफ्नाे पार्टीका उम्मेदवारलाई बिजयी बनाउन नसक्नु उम्मेदवारका आकांक्षी भट्टराई र कँडेलकाे असफलता हाे ।


















