दमक । पूर्व पश्चिम सडक बिस्तारका क्रममा कमल गाउँपालिकाकाे मुख्य राजमार्गमा माओवादीद्धारा निर्माण गरिएकाे स्वागत गेट हटाउन लागेकाे भन्दै नेकपा माओवादी केन्द्र लगायतका दलहरुले बिराेध गरेका छन् ।
उनीहरुले दमक नगरपालिका-५ स्थित काँकडभिट्टा - लौकही सडक योजनाको कार्यालय परिसरमा ज्ञापनपत्र बुझाउँदै बिराेध गरेका हुन् । नेकपा (माओवादी केन्द्र), नेकपा (बिप्लव), जनमुक्ति सेना नेपाल, घाइते योद्धा प्रतिष्ठान, जन योद्धा प्रतिष्ठानको संयुक्त आयोजनामा पुर्व पश्चिम राजमार्ग अन्तर्गत झापा जिल्ला कमल गा.पा.- ३ स्थित केर्खामा रहेको २ वटा सहिद गेट संरक्षणको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य रन्जित तामाङको नेतृत्वमा बिरोध सभा आयाेजनापछि उनीहरुले ज्ञापनपत्र बुझाएका थिए । उक्त बिरोध सभामा बाेल्दै केन्द्रिय सदस्य रन्जित तामाङले कसैको इतिहास नामेट गर्न नहुने भन्दै सहिद गेटको संरक्षण वा पुनः निर्माण गर्ने बिषयमा कुनैपनी छलफल, निकास र सहमतिको वातावरण नबनाई भत्काउन खोजिएमा परिणाम राम्रो नहुने चेतावनी दिएका थिए ।
त्यसैगरि नेकपा (बिप्लव) समुहका झापा जिल्ला इन्चार्ज सुमन सिंह पौडेलले एसियन हाईवे यस ठाउमा वन्नु गौरवको बिषय भएको तर जनयुद्धको समयमा सहिदहरूको वलिदानको प्रतिमाको रूपमा रहेको सहिद गेट भत्काइन्छ भने आफुहरुलाई मान्य नहुने र सरकारले माओवादी जनयुद्धको मर्मलाई बेवास्ता गरेर जबर्जस्ती भत्काए द्वन्द्वको सिर्जना हुने बताएका थिए ।
साथै काँकडभिट्टा - लौकही सडक योजना कार्यालयका प्रमुख सुनिलबाबु पन्त कार्यालयमा अनुपस्थित भएका कारण कार्यालय भवनको गेटमा ज्ञापनपत्र टांसेर उनीहरु फर्किएकाे बताइएकाे छ ।