बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ३५ बर्ष यता सरकारमा नेतृत्व गरेका दलहरू राज्यको सम्पत्ति दोहन गर्न मात्र लागिपरेको बताएका छन् ।
मंगलबार झापाको बिर्तामोडमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले आफ्ना मान्छे भर्ती गर्नका लागि संवैधानिक परिषदमा बहुमत पुर्याउन उपसभामुख इन्दिरा रानामगरलाई आचरण बिरुद्धको अभियोग लगाउने तयारी गरिरहेको बताए ।
उनले भने, ‘उपसभामुखलाई आचरण बिरुद्धको अभियोग लगाउने कुरा भइरहेको भन्ने सुन्दैछु, काँग्रेस र एमाले त्यही मामिलामा लागेका छन् । संवैधानिक परिषदमा आफ्नो भाग पुर्याउन उनीहरूले यो काम गर्न लागेका हुन् । यो सरासर गलत छ । सरकारमा सहभागी दलहरुले यसलाई सच्याउनु पर्छ ।
‘हिजो बहुदलीय ब्यबस्थाका लागि लडेका दलहरु आज दुई दलीय ब्यवस्था मान्नुपर्ने स्थानमा आएका छन् । अब हाम्रो जिम्मेवारी पनि बढेको छ, अध्यक्ष लिङदेनले भने–‘ यतिबेला कांग्रेस र एमाले दुई दलीय ब्यवस्थाको पक्षमा पुग्नु भनेको अब बर्षाैंसम्म राज्यस्रोतको दोहन गर्ने वाताबरण बनाउनु हो ।’
उनले एनसेल राजनीतिक दलका नेताहरुको दुहुनो गाई भएको आरोप लगाए । सरकारलाई स्वामित्व हस्तान्तरण गरेर जानुपर्ने एनसेललाई किस्ताबन्दीमा कर तिर्न पाउने सुविधा यो सरकारले दिएको उनको भनाइ थियो । उनले भने, ‘हामीलाई एक दिन कर नतिर्दा फाईन लाग्छ, एनसेललाई त्यो सुविधा कसको इसारामा दिएको हो ?’
उनले एमालेले कानुन नै संशोधन गरेर गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न पाउने सुविधा दिएको बताए । रकमको चलखेल नभइ यो काम भयो होला त ?’ उनको प्रश्न थियो ।
कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र जनता समाजवादी पार्टी परित्याग गरेर झापाका ३ सय भन्दा बढी कार्यकर्ता राप्रपामा प्रवेश गरेको जनाइएको थियो ।