झापा । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको निर्वाचनमा झापाकाे बिर्तामाेडका नरेन्द्र प्रसाद बराल र बिराटनगरका धनबहादुर काफ्लेकाे भिडन्त हुने भएकाे छ ।
बराल र काफ्लेले दुई समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् । माघ २६ र २७ गते औषधी व्यवसायी संघकाे निर्वाचन हुँदै छ ।
अध्यक्ष पदमा प्रतिष्पर्धा गरिरहेका बराल विर्तामोडको ओसियन फर्माका संचालक तथा यसअघि संघका वरिष्ठ उपाध्यक्ष रहेका थिए । विराटनगरको एपोलो फार्मेशीका संचालक काफ्ले यसअघि संघको खुद्रा उपाध्यक्ष रहेका थिए ।
बरालको समूहबाट सूर्य प्रसाद कोइराला र काफ्लेको समूहबाट वरिष्ठ उपाध्यक्षमा लक्ष्मी प्रसाद तिम्सिनाले उम्मेदवारी दिएका छन् । काफ्ले समूहबाट वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका तिम्सिना यसअिघ औषधी व्यवसायी संघ मोरङका निर्वतमान अध्यक्ष समेत हुन् । त्यसैगरी थोक उपाध्यक्षमा काफ्ले समूहबाट सुदिनध्वज श्रेष्ठले र बरालको समूहबाट खेमराज बस्नेतले उम्मेदवारी दिएका छन् । महासचिबवमा लक्ष्मण माझी चौधरी र रविन्द्र घिमिरेले उम्मेदवारी दिएका छन् । काफ्ले समूहबाट महासचिबमा उम्मेदवारी दिएका चौधरी एनसीडिए तत्कालिन कोशीका पुर्व अध्यक्ष हुन् । त्यस्तै उपकोषाध्यक्षमा सेवक दाहाल र पुष्पराज पोखरेलको उम्मेदवारी परेको छ ।
एनसीडिए कोशी प्रदेशको खुद्राका उपाध्यक्ष दिलिप सुवेदीसहित १२ जना निर्विराेध निर्वाचित भएका छन् । मंगलबार भएको उम्मेदवारी दर्तामा खुद्रा उपाध्यक्षमा सुवेदीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित हुन भएका हुन् ।
त्यसैगरी कोषाध्यक्षमा प्रभात कुमार श्रेष्ठ, सचिवमा झरना न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै थोक सदस्यमा शरद गौतम, खेमलाल काफ्ले, खुद्रा सदस्यमा याम कुमार खड्का, बेद बहादुर थापा, खुल्ला सदस्यहरुमा सुवास पौडेल, महेन्द्र थापा, सुरेन्द्र प्रधान, प्रकाश धिमाल र तिलमाया काफ्ले भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।