बिर्तामोड । नेकपा एमालेको विज्ञान तथा प्रविधि बिभाग, कोशीले झापाको बिर्तामोडमा तीनदिने विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना गर्ने भएको छ । आगामी जेठ–१, २ र ३ गते प्रदर्शनी आयोजना गरिने तयारी रहेको विभागले बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । 

कोशी प्रदेशमा रहेका सबै माध्यमिक तह सञ्चालन गरेका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा विज्ञान तथा प्रविधि क्षेत्रमा भएको वैज्ञानिक खोज, अनुसन्धान, नवप्रवर्तन, अन्वेषण, आविष्कार, नविनतम प्रविधिको प्रयोग लगायतलाई प्रोत्साहन गर्न एवम् सो ज्ञान तथा सीपलाई आम विद्यार्थीमाझ पुर्याउने उद्देश्यले कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना गर्न लागिएको हो ।

विद्यार्थीमा रहेको विज्ञान तथा प्रविधि सम्बन्धि खोज तथा अनुसन्धानलाई प्रस्तुत गर्ने अवसर प्रदान गर्न, विद्यार्थीका मौलिक प्रकृतिका अविस्कार तथा अन्वेषणलाई प्रोत्साहन गर्न, आइटी प्रविधिको बिकासले प्राप्त गरेका नयाँ उपलब्धिलाई विद्यार्थी माझ प्रस्तुत गर्न, वैज्ञानिक चिन्तनमा विद्यालय तहका विद्यार्थीलाई उत्प्रेरित गर्न, शिक्षा, विज्ञान र प्रविधिसँग सम्बन्धित विभिन्न सामग्रीहरु एकै ठाउँमा अवलोकन गर्ने अवसर प्रदान गर्न र पार्टीको प्रदेशस्तरीय विज्ञान तथा प्रविधि नीति तयार गर्न कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । 

बिर्तामोडको सामुदायिक विद्यालय देवी माध्यमिक विद्यालय आयोजना हुने विज्ञान तथा प्रविधि प्रदर्शनीमा कोशी प्रदेशका १४ जिल्लाका सामुदायिक तथा सस्थागत विद्यालयका कक्षा १२ सम्मका विद्यार्थी सहभागी हुन सक्ने बिभागका संयोजक गणेश पोखरेलले जानकारी दिए ।

प्रतियोगितात्मक प्रदर्शनीमा सहभागी बिद्यालयलाई आकर्षक पुरस्रकारको व्यवस्था गरिएको उनले बताए । प्रतियोगितामा प्रथम हुनेले नगद ४ लाख, दोस्रोले ३ लाख, तेस्रोले २ लाख र सान्त्वनाले १ लाख रुपैयाँ पुरस्कार पाउने छन् । यसैगरी प्रतिभा प्रोत्साहनका रुपमा २५ हजार रुपैंयाँका दरले २५ वटा बिद्यालयलाई पुरस्कृत गरिने संयोजक पोखरेलले बताए । 

प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाका लगभग १४० वटा बिद्यालयका बिद्यार्थीको सहभागिता रहने तयारी छ । प्रतियोगितामा ५०० बिद्यार्थीले भाग लिने जनाइएको छ । १४० वटा बिद्यालयलाई एउटाका दरले निशुल्क स्टल उपलब्ध गराउने तथा थप २० वटा स्टल बिद्यालयले आफ्नो प्रचार प्रसारका लागि लिनसक्ने जनाइएको छ । जसको शुल्क आयोजकले १ लाख रुपैंयाँ तोकेको छ । 

कार्यक्रमका लागि ३५ लाख रुपैंयाँ खर्च हुने आयोजकले जनाएको छ । स्थानीय तह, प्रदेश सरकार लगायतबाट श्रोतको व्यवस्थापन गरिने जनाइएको छ । पत्रकार सम्मेलनमा नेकपा एमाले कोशी प्रदेश ईन्चार्ज शेरधन राई, झापा ईन्चार्ज रोमनाथ ओली, झापा अध्यक्ष प्रेम गिरी, उपाध्यक्ष शिव ढुङगेल, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतको सहभागिता रहेको थियो ।