बिर्तामाेड । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले वडा नम्बर ८ का अध्यक्ष अजय कार्कीबिरुद्ध सामाजिक सञ्जालमा अपमानजनक शब्द लेखेकाेप्रति बिर्तामाेडका तीनवटा राजनीतिक दलले बिराेध गरेका छन् ।
उनीहरुले नगरपालिका अगाडि उप प्रमुख बिरुद्ध नारावाजी गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रमुख संग्रौलालाई कार्वाहीको मागसहित नगरपालिका कार्यालयअगाडि नाराजुलुस गरेका हुन् । बाक्लो संख्यामा रहेका प्रहरीले उनीहरुलाई नगरपालिका गेटभित्र प्रवेश गर्न दिएको छैन । भित्र प्रवेश गर्न नपाएपछि गेट बाहिर उनीहरुले नाराजुलुस र कोणसभा गरेका छन् ।
बिर्तामोड ३ को नवदुर्गा मन्दिर परिसरमा भेला भई राप्रपा बिर्तामोड नगर अध्यक्ष लक्ष्मी गौतमको नेतृत्वमा करिव ५०/६० जनाको उपस्थितिमा बिरोध र्याली निकालेर नगरपालिका परिसरमा पुगेर नाराबाजी गरेका थिए ।
‘सामाजिक संजालको दुरुपयोग बन्द गर ,बिर्तामोडका अराजक उपमेयरलाई कारबाही गर,अराजक उपमेयर मुर्दाबाद, सत्ताको आडमा गरिने गुण्डागर्दी बन्द गर’ जस्ता नारा उनीहरुले लगाएका थिए ।


















