बिर्तामोड। अखिल नेपाल महिला संघ (अनेमसंघ) बिर्तामोड नगरपालिका-५ ले यस वर्ष फरक तरिकाले तीज मनाएको छ। हरेक वर्ष भव्य कार्यक्रम आयोजना गर्ने चलनलाई तोड्दै यस पटक वडामा बसोबास गर्ने बच्चालाल ठाकुर र लैला ठाकुरको वृद्ध दम्पतीसँग उनीहरूकै घरमा पुगेर अनेमसंघले तीज मनाइएको हो।

वडा नम्बर ५ को अगुवाइमा आयोजित यो कार्यक्रमले समाजमा वृद्धवृद्धाप्रति सम्मान र सहयोगको सन्देश दिएको छ। सोही अवसरमा दम्पतीलाई नगद, खाद्यान्न, ग्यास चुलो र अन्य घरायसी सामग्रीहरू उपहारस्वरूप प्रदान गरिएकाे थियाे।

अनेमसंघ ५ नम्बर वडा कमिटीका अध्यक्ष निर्मला ओडारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा अनेमसंघ कोशी प्रदेश कमिटी सचिव हेमकला कट्टेल, अनेमसंघ झापा जिल्ला सदस्य भागीरथा आचार्य, अनेमसंघ क्षेत्रीय कमिटी सदस्य सारदा ठकुरी, अनेमसंघ नगर अध्यक्ष यसोदा प्रसाईं, अनेमसंघ वडा इन्चार्ज तथा नगर सदस्य पुष्पा सिटौला, नेकपा एमाले वडा नम्बर ५ का अध्यक्ष धर्मानन्द ओडारी, नेकपा एमाले नगर सदस्य अञ्जना गौतम र नेपाल पर्यटन बोर्डका जिल्ला उपाध्यक्ष बाबुराम घिमिरे लगायत स्थानीय अगुवाहरूको उपस्थिति थियो।

​यो कार्यक्रमले परम्परागत तीज उत्सवलाई सामाजिक सेवा र सद्भावसँग जोड्दै एउटा नयाँ र उदाहरणीय अभ्यासको सुरुवात गरेको बताइएकाे छ ।