झापा । ताप्लेजुङकाे आठराई त्रिवेणी गाउँपालिका-२ फुलबारीका वडाध्यक्ष टेकिन्द्र सेन्दाङमाथि सांघातिक आक्रमण भएको छ । सदरमुकाम फुङलिङबाट घर फर्किने क्रममा तोक्मेडाँडामा वडाध्यक्ष सेन्दाङलाई युृवाको समुहले आक्रमण गरेका हुन् । 

 

आक्रमणबाट वडाध्यक्ष सेन्दाङको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइते सेन्दाङको ताप्लेजुङ जिल्ला अस्पतालमा प्राथमिक उपचार गरि पछि थप उपचारका लागि झापा रेफर गरिएको छ । 

 

जिल्ला कमिटीको बैठक सकेर घरतर्फ फर्कदै गर्दा सेन्दाङ माथि तोक्मेडाँडा क्षेत्रमा ५/७ जनाको समूहले सांघातिक आक्रमण गरेको प्रहरीले जनाएको छ ।  प्रहरीले आक्रमणमा संलग्नको खोजी जारी राखेको जनाएको छ । घटनाका बारेमा अनुसन्धान सुरु भईसकेको र आक्रमणमा संलग्नलाई चाँडै कानुनी दायरामा ल्याउने प्रहरीको दावी छ ।


२०७९ सालकाे स्थानीय तहकाे निर्वाचनका समयमा सेन्दाङकाे समूहले तरुणदलका नेतासमेत रहेका मन्दिप लिम्बुलाई कुटपिट गरेकाे थियाे । मन्दिपकाे समूहले अहिले नेकपा एमाले जिल्ला कमिटी सदस्यसमेत रहेका सेन्दाङमाथि सांघातिक आक्रमण गरेकाे हाे । 


कुटपिटमा मिथुन पालुङवा लिम्बू, मन्दीप लिम्बू, हेम आङबुहाङ, बिशाल तामाङ लगायत १०–१२ जनाको युवाहरुको समूहले हमला गरेका थिए । उनीहरु सबै फरार छन् । उनीहरु कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगाम निकट हुन् ।