बिर्तामोड । शैक्षिक, अस्पताल, व्यापारिकसँगै झापाको प्रमुख शहर बिर्तामोड स्पाको शहरका रुपमा परिचित हुँदै गएको छ । पछिल्लो चार बर्षमा बिर्तामोडमा करिब २ दर्जन स्पा सञ्चालनमा आएका छन् । अझै पनि बिर्तामाेडमा स्पा खुल्ने क्रम जारी छ ।
स्पा सञ्चालनमा आएसँगै रोजगारीमा बृद्धि भएको छ । यसले मुलुकको अर्थतन्त्र सुधारमा केही हदसम्म योगदान गर्न सक्ने देखिएको यसका सञ्चालकहरु बताउँछन् ।
बिर्तामोडमा सञ्चालित स्पा मा नेपालीसँगै भारतको बिहार तथा बंगालबाट सेवाग्राही आउने गरेको बिर्तामोडको हनुमान सेन्ट्रलमा सञ्चालित नेचर स्पा का सञ्चालक सञ्जय चौधरी बताउँछन् । उनले नेपालीसँगै बिदेशी नागरिक पनि स्पा को लागि आउने गरेको बताएका छन् ।
व्यवसायिक रुपमा खुलेका स्पाले अहिले बिर्तामोडमा नै सयौंलाई रोजगारी दिएको चौधरीको दावी छ । चार बर्ष अघि काठमाण्डौमा सिमित यो व्यवसाय मुलुकका अन्य शहरमा फैलिएसँगै यसका सेवाग्राहीको संख्या पनि बढेको छ ।
स्पाका बारेमा कतिपय नकारात्मक धारणाहरु समाजमा अझै सुनिने कुरामा यसका सञ्चालकसमेत जानकार रहेको बताउँछन् । तर, समाजमा फैलिएका अफवाह जस्तो गतिविधि त्यहाँ नहुने दावी उनीहरुको रहेको छ । उनीहरु स्पालाई मर्यादित व्यवसाय बनाएर सञ्चालन गर्न प्रतिबद रहेको बताउँछन् ।
सञ्चालकले स्पा काे आवरणमा गलत गतिविधि हुन नहुने कुरामा जाेड दिएका छन् । उनीहरुले नियमित रुपमा अनुगमन गर्नुपर्ने, सर सफाईमा ध्यान दिनुपर्ने कुरामा सजग रहन अनुराेध पनि गरेका छन् ।
स्पा को महत्व
तनाव कम गर्न,शरीर र दिमागलाई आराम दिन तथा राम्रो स्वास्थ्यको लागि स्पा को महत्व छ । यो बिलाशिता होइन । मानिसको शारिरीक तथा मानसिक स्वास्थ्यका लागि महत्वुपूर्ण छ । यसले ब्यस्त जिन्दगीलाई ब्रेक लगाउँदै आफ्नो लागि समय निकाल्ने मौका दिने गर्छ । स्पा ले मानिसलाई रिफ्रेसमेन्ट तथा एनर्जेटिक हुन मदत गर्छ ।
स्पा मा मसाज र स्टिम बाथ थेरापी दिने गरिन्छ । स्पा ले तनावमा राहतको काम गर्छ । तनाव दिने हर्माेनलाई नियन्त्रण गर्छ । तथा मानसिक शान्ति दिने काम गर्छ । जसका कारण शरिरको आवश्यकता बमोजिमको निन्द्रा लाग्न मदत हुन्छ ।
यसले शरिरमा भएका खराव टक्सिनहरु बाहिर निकाल्ने, रक्त सञ्चारमा सुधार गर्ने काम गर्छ । त्यसले शरिरमा अक्सिजनको मात्रा सन्तुलनमा भूमिका खेल्छ । महिनामा बढीमा दुई पटक स्पा जान जानकारहरु सुझाव दिन्छन् । त्यसले मानिसको छाला तथा कपालको स्वास्थ्यमा सुधार,गर्ने काम गर्छ ।



















