बिर्तामोड । जेनजीको प्रदर्शनका क्रममा भएको झडपमा बिर्तामोडमा तीनजना घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले प्रहार गरेको रबरको गोली लागेर तीनजना घाइते भएका हुन् ।
शान्तिपूर्ण प्रदर्शन गरेर फर्किएका जेनजी समुहका कार्यकर्ता काठमाडौंमा धेरै आन्दोलनकारी मारिएको समाचार सुनेपछि फेरि बिर्ताबजारस्थित नगरपालिका भवन अगाडि केन्द्रित भएका थिए ।
त्यसपछि भएको हिंसात्मक झडपमा उनीहरूलाई गोली लागेको हो । आन्दोलनकारीले नगरपालिकाको सुरक्षार्थ खटिएका प्रहरीमाथि ढुङगामुडा गरेका थिए । प्रहरीले दर्जनौ सेल अस्रुग्यास प्रहार गरेको थियो ।
प्रदर्शनकारीले बिर्तामोड नगरपालिकाको नवनिर्मित भवनमा ढुङगामुडा गरेका थिए । त्यसक्रममा भवनको सम्पूर्ण सिसा फुटेको छ । नगरपालिकाको गेटमा आगजनी गरेका प्रदर्शनकारीलाई प्रहरीले अश्रु ग्यास र रबरको गोली प्रहार गरेर लखेटेको थियो ।
प्रदर्शनकारीले बिर्ताबजारमा टायर बालेर सडक अवरुद्व गरेका थिए । आगो निभाउन गएको नगरपालिकाको मे १ ग ४१ नम्बरको दमकल प्रदर्शनकारीले तोडफोड गरेका थिए । प्रदर्शनकारीको ढुङ्गा प्ररहारबाट दमकलको अगाडिको सिसा फुटेको छ ।
आन्दोलनकारी फर्किने क्रममा बिर्ताबजारस्थित प्रहरी चौकीमा ढुङगा प्रहार गरेका छन् । प्रहरीका अनुसार चौकीको केही भागमा क्षति पुगेको छ ।

















