अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले जेनजी बिध्वंसपछि अवरुद्ध रहेको सेवा आइतबारदेखि सुचारु गरेको छ । नगरपालिकाको रहेको सभाहलबाट अति आवश्यक सेवा सुचारु गरिएको हो ।
भदौ २३ गते काठमाण्डौमा भएको जेनजीको प्रदर्शनमा भएको दमनमा १९ जना आन्दोलनकारी मारिएका थिए । त्यसको आक्रोशस्वरुप भदौ २४ गते देशभरका धेरै सरकारी तथा निजी संरचना तोडफोड, लुटपाट र आगजनी भएको थियो ।
त्यसै क्रममा अर्जुनधारा नगरपालिका पनि आन्दोलनकारीको निशाना बनेको थियो । आन्दोलनकारीले नगरपालिका भवन, त्यहाँ राखिएका साना ठुला सम्पूर्ण सवारी साधन तथा ११ वटै वडा कार्यालयमा आगजनी गरेका थिए ।
नगरका कर्मचारी, जनप्रतिनिधि तथा स्थानीय स्वयंमसेवकले आन्दोलनबाट क्षति भएको संरचना सफा गरेर नगरपालिकाबाट सेवा सुचारु गरेका हुन् । अहिले नगरका ११ वटै वडाको अत्यावश्यक काम सभाहलबाट सञ्चालनमा आएको उपप्रमुख खड्गमाया पराजुलीले जानकारी दिएकी छन् ।
‘नगरवासीको आवश्यकता महसुस गरेर हामीले घरबाटो सिफारिस, राजश्व दाखिला लगायत वडाले गर्ने आधारभुत काम सुरु गरेका छौं–‘उपप्रमुख पराजुलीले भनिन् ‘यहाँ अत्याधिक भिडभाड हुने भएका कारण समान्य अवस्थाका सेवाग्राहीलाई केही समयपछि सेवा लिन आउन अ’नुरोध गरेका छौं ।’ उनले बिध्वंसका कारण नगरवासीले सास्ती पाएको भन्दै चाँडै नै यसको निकास खोजिने बताइन् ।
दशैपछि वडाको सेवा पहिलाकै स्थानबाट उपलब्ध हुन्छ : घिमिरे
अर्जुनधाराका प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरेले दशैको बिदा लगत्तै वडाबाटै सेवा प्रदान गर्ने तयारी भइरहेको जानकारी दिए । उनले वडाको सेवा नगरपालिकाबाट प्रदान गर्नु बिषम परिस्थितिको बाध्यता रहेको भन्दै सेवाग्राहीले दशै बिदापछि सम्बन्धित वडाबाटै सेवा लिन पाउने तयारी गरिरहेको बताए ।
‘क्षतिग्रस्त भवनको हामीले अवलोकन गरेका छौं, कुनै भवनहरु मर्मत गर्न मिल्ने छ भने कुनै भवनहरु नयाँ निर्माण गर्नुपर्ने अवस्था छ, घिमिरेले भने–‘तत्काललाई भवन निर्माण गर्न नसकिने भएका कारण त्यही रहेका स्वास्थ्य कार्यालयबाट सेवा प्रदान गर्ने तयारी छ ।’ नगरपालिकाबाट नै वडाको सेवा प्रदान गर्दा सेवा प्रवाहमा समस्या उत्पन्न भएकाले चाँडै यसको निकास निकाल्ने निर्णय भएको उनले बताए ।
अर्काे एक प्रसंगमा सामाजिक सुरक्षा भत्ता बैंकमा जम्मा भइसकेको अधिकृत घिमिरेले जानकारी दिए । ‘भत्ता जम्मा भइसकेको छ, दशैको बिदा अघि कार्यालय समय चार दिन मात्र भएकाले हाललाई वितरणमा समस्या छ, घिमिरेले भने–‘दशैपछि सबैले भत्ता पाउनुहुनेछ ।’
झापाको कमल गाउँपालिका, शिवसताक्षी नगरपालिका र हल्दीबारी गाउँपालिकाबाहेक सम्पूर्ण स्थानीय तह आन्दोलनकारीको निशानामा परेका थिए । तोडफोडपछि सेवा सुरु गर्ने अर्जुनधारा नगरापलिका पहिलो स्थानीय तह बनेको छ ।


















