बिर्तामोड । अर्जुनधाराको बिरिङ खोलामा अबैध रुपमा नदीजन्य सामग्री संकलन गरिरहेका तीनवटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीसँगको सेटिङमा नदीजन्य सामग्री उत्खनन् गरिरहेका ट्याक्टरलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो । अर्जुनधारा-१ स्थित बिरिङ खोलाबाट ना ४ त ६५३२, प्र १-०१-००१ त.९७१७ र को १ त ८८६३ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी शनिश्चरेका बरिस्ठ सई नुमराज के.सी र ईलाका प्रहरी कार्यालय अनारमनीका सई बिकास पोख्रेलको कमाण्डको टोलीले ट्याक्टर नियन्त्रणमा लिएको जनाइएको छ ।
प्रशासनिक तरलताको फाइदा उठाउदै सशस्त्र प्रहरीलाई प्रभावमा पारेर अर्जुनधारामा नदीजन्य सामग्रीको निरन्तर चोरी हुँदै आएको छ । नियन्त्रणमा लिएका ट्याक्टर नगरपालिका बुझाउने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।




















