बिर्तामोड । जेनजी आन्दोलनको नाममा प्रहरी कार्यालय तथा प्रहरीमाथी आक्रमण गर्ने थप ४ जना पक्राउ परेका छन् । यो सँगै बिर्तामोडबाट पक्राउ पर्नेको संख्या ७ पुगेको छ ।

ईलाका प्रहरी कार्यालय अनारमनीको सादा पोशाकको टोलीले बिर्तामोडको पश्चिम स्टेन्डबाट कनकाई-१ बस्ने बर्ष ४२ को गोपाल संग्रौला, अर्जुनधारा-७ बस्ने बर्ष २३ को सुरज राई र बिर्तामोड-५ बस्ने बर्ष २६ को सुजन लिम्बुलाई नियन्त्रणमा लिएको छ ।

उनीहरु भदौ २४ गते जेनजी आन्दोलनको क्रममा इप्रका अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको कार्यालय तोडफोड तथा आगजनीमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

यसैगरी ईलाका प्रहरी कार्यालय सुरुङगाको टोलीले कनकाई-३ बस्ने वर्ष २५ को बिष्णु बिकलाई पक्राउ गरेको छ ।

इप्रका सुरुङगाको गाडी तोडफोड तथा आगजनी गरेको अभियोगमा बिकलाई नियन्त्रणमा लिई इप्रका अनारमनीमा ल्याएर थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । 

यसअघि प्रहरीले ईलाका प्रहरी कार्यालय अनारमनीमा आगजनी, लुटपाट र तोडफोड गरेको अभियोगमा अर्जुनधारा-६ का पदम राई र उनकी श्रीमती पुजा मगर तथा प्रहरी हवल्दार बिजय खड्कालाई मरणासन्न हुनेगरी कुटपिट गर्ने बिर्तामोड-५ का नवराज राइलाई नियन्त्रणमा लिएको थियो ।