झापा । एभरेष्ट स्मार्ट एजुकेसन एकेडेमी बिर्तामोडको नवौँ वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमसहित सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशिष प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रियंका कटवाल प्रमुख अतिथि रहेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि डा. कटुवालसहित प्याप्सन झापाका वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठक, बिर्तामोड नगरपालिकाकी शिक्षा अधिकृत जानुका रेग्मी, योजना अधिकृत जय तिम्सिना, सामाजिक व्यक्तित्व किशोर प्रसाई, कपिल प्रसाई तथा न्यूटन्स एजुकेसन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुँमागाई लगायतले संयुक्त रूपमा दीप प्रज्वलन गर्दै शिक्षा सेवी तथा विद्यालयका संस्थापक स्वर्गीय हरि प्रसाईको तस्वीरमा माल्यार्पण गरी कार्यक्रम उद्घाटन गरेका थिए ।
कार्यक्रममा सहभागी वक्ताहरूले निजी विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै स्थानीय शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको बताएका थिए ।
वार्षिकोत्सवका अवसरमा सञ्चार क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै पूर्वाञ्चल दैनिकका सह–सम्पादक सुरेन्द्र भण्डारीलाई अभिनन्दन गरिएको थियो । संस्थागत विद्यालयको विकासमा योगदान पु¥याएको भन्दै बालकल्याण अंग्रेजी स्कुल चारपानेका संस्थापक राम सिटौलालाई सम्मान गरिएको थियो भने असल अभिभावकका रूपमा व्यवसायी ओमप्रकाश श्रेष्ठ र डा. चाँदनी प्रधान सम्मानित भएका थिए ।
यसैगरी उत्कृष्ट शिक्षकको रूपमा शिक्षक तीर्थराज खतिवडालाई सम्मान गरिएको थियो ।
एसईई २०८० मा उत्कृष्ट नतिजा ल्याउने निकिता तामाङ तथा २०८१ मा उत्कृष्ट प्रदर्शन गर्ने सिद्धान्त ढकाललाई नगद पाँच हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।



















