झापा। झापाको भद्रपुरमा भवन निर्माणका क्रममा मार्बलले थिच्दा एक कामदारको मृत्यु भएको छ।

भद्रपुर नगरपालिका–५ स्थित सूर्य प्लाइउड फ्याक्ट्रीमा निर्माणाधीन नयाँ भवनमा काम गर्ने काठमाडौं महानगरपालिका–कोटेश्वर राममन्दिरका करिब ३१ वर्षीय राजेन्द्र खड्काको मृत्यु भएको हो।

बुधबार दिउँसो करिब १२ः४५ बजे मे १ ज २२१८ नम्बरको बोलेरो पिकअपबाट भवनमा प्रयोग गर्न ल्याइएको मार्बल अनलोड गर्ने क्रममा मार्बलले खड्कालाई थिचेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका खड्कालाई उपचारका लागि ओमसाई पाथिभरा अस्पताल, भद्रपुर लगिएको थियो। अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ भने मृतकका आफन्तसँग समन्वय भइरहेको जनाइएको छ।